गोरसिङ्गे । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको सोमबार गोरुसिंगेमा सूचना केन्द्र भवन उद्घाटन भएको छ । नव निर्मित भवनको बुद्धभूमि नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठले उद्घाटन गर्नु भएको हो । भवनको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले पत्रकारको कलम यो वा त्यो नाममा समाचारमा सत्य तथ्य हुनु पर्ने बताउनु भयो ।
राज्यले चौथो अंगका रुपमा पत्रकारितालाई लिने गरेको र समाजले पनि पत्रकारलाई त्यसै अनुसार सम्मान गर्ने गरेको बताउँदै पत्रकारले स्वतन्त्र रुपमा कलम चलाउनुपर्ने बताउनु भयो । पत्रकार सबैको साझा भएको भन्दै फरक विचार राख्नेलाई निषेध गर्ने नीति लिन नहुने बताउनुभयो । समाजमा लुकेर रहेर खबरलाई आम नागरिक समक्ष उजागर गरी समाज रुपान्तरणको अभियानमा पत्रकारले कलम चलाउनु पर्ने उहाँले सुझाव दिनुभयो । मेयर श्रेष्ठले पत्रकारिता पेशा समाजको ऐना भएको बताउँदै मिडियाको सवलीकरणका लागि आफुले नगरबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नपत्रकारलाई दक्ष बनाउन महासंघले विभिन्न कार्यक्रम ल्याउने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा महासंघका भवन निर्माण भैसकेका बताउँदै अब पत्रकारितालाई सबल र सुदृढ बनाउन विशेष खालका कार्यक्रम ल्याउने गिरीले बताउनुभयो ।
महासंघका कपिलवस्तु शाखा अध्यक्ष डिलाराम भुसालले नगरपालिकाले भवन निर्माणका पुराएको सहयोगको धन्यवाद दिदै सुचना केन्द्रबाट सबै पत्रकारले सेवा लिन पाउने बताउनु भयो । कार्यक्रममा बुद्धभूमि नगरपालिका वडा नं. २ का वडाध्यक्ष भेषराज शर्मा, बुद्धभूमि उद्योग वाणिज्य संघका अध्यक्ष सुभलाल भुसाल लगायतले बोल्नुभएको थियो ।