कपिलवस्तुको शिवराज नगरपालिकाले असारे विकासलाई पूर्ण रुपमा बन्देज लगाएको छ । असारे विकासमा गरिने कामको बारेमा नेपाली समाजमा विभिन्न टिकाटिप्पणी हुँदै आइरहेको बेला शिवराजले यो बर्ष असारे विकासलाई पूर्ण रुपमा रोक लगाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले नगर कार्यपालिकाको बैठकले असारको २० गते सकिने योजनालाई मात्र भुक्तानी दिने निर्णय गरेको बताउनुभयो । पैसा सक्ने नाममा असारको बर्षातमा पनि धमाधम काम गर्ने परिपाटीको अन्त्य गर्दै यस्तो निर्णय गरिएको पौडेलले मायादेवीलाई बताउनुभयो ।
चालु आवमा जेष्ठ मसान्त भित्रै काम सक्ने गरी योजना बनाएको भएपनि कोरोना भाइरसको कारणले असार २० गतेसम्म काम गर्न अनूमती दिएको बताउनुभयो । असार २५ गतेसम्म भुक्तानी अनिवार्य गर्नुपर्ने भएकाले असार २० गतेभित्र काम सकेर कार्यालयमा भुक्तानीका लागि प्रकृया चाल्नुपर्ने उहाँले बताउनुभयो ।
असार २० भित्र नसकिने ठूला योजनाहरुलाई क्रमागत रुपमा राखि आउँदो आवमा काम गर्ने गरी कार्यालयले प्रकृया थालेको बताउनुभयो । तोकिएको समयमा सम्पन्न हुन नसकेका अरु साना योजनाहरुको बजेट खर्च नभएपनि नगरको कोषमा रहने उहाँले बताउनुभयो । संचार कर्मी संगको कुराकानीको क्रममा उहाँले असार महिनाको अन्तिम समयमा गरिने कामको गुणस्तरियता नदेखिने भएकाले नगरपालिकाले असारे विकासलाई रोकेको स्पष्ट पार्नुभयो । कोरोना भाइरसका कारण नगरका थुप्रै विकास निर्माणका काम प्रभावित भएको पनि उहाँले बताउनुभयो ।