कपुरी अनलाइन
लेखक विष्णु पाण्डे स्वास्थ्य कर्मी
कन्ट्याक्ट ट्रेसिङ संक्रमण भएको व्यक्ति र उसको सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्ने, पहुँच पुर्याउने र व्यवस्थापन गर्ने प्रकृया हो (विश्व स्वास्थ्य संगठन) जसलाई द्रुत कतिमा गर्दा अरु संक्रमण विस्तारलाई रोक्न सकिन्छ । अहिलेको अवस्थामा (covid 19) केस पहिचान, एकान्तबास, परीक्षण र स्याहार contact tracing र क्वारेन्टाइन जनस्वास्थ्यका मुख्य रणनिति हुन् जसबाट नै हामीले संक्रमण दरलाई नियन्त्रण गर्न सकिन्छ।
विश्वभरी नै tracing को काम युद्ध स्तरमा भएको देखिन्छ। यसले भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्नेमात्र हैन संक्रमणको महामारी हुनबाट पनि रोक्न सहयोग गर्दछ। यस विधि को सही र द्रुत प्रयोग गर्नसके संक्रमणको चेनलाई रोक्न सकिन्छ । यसको माध्यमबाट हामीले संक्रमण पुष्टि भएको व्यक्तिसँग सम्पर्कमा आएका व्यक्ति को स्व क्वारेन्टाइन मा बस्नुपर्छ, कसलाई सावधानी अपनाउनु पर्छ, कसलाई परीक्षणमा लानुपर्छ भन्ने निर्देशन र प्रेषण गर्ने हुनाले यसको महत्व धेरै रहेको छ ।
विश्व स्वास्थ्य संगठन (WHO) को standard अनुसार संक्रमण भएको २४ घण्टामा कन्ट्याक्ट ट्रेसिङ हुनुपर्छ जुन अतिनै संवेदनशील कुरा हो । हामीले विश्वमा यो महामारी को नियन्त्रणमा केही सफल भएका राष्ट्रहरूको नाम लिन्छौं जुन यहिनै रणनीतिको सहि र द्रुत प्रयोगका कारणले भएको हो।
विगत एकमहिना यता covid 19 को संक्रमण दर व्यापकरुपमा फैलिएको देखिन्छ जुन मुख्यकारण भारतबाट आएका व्यक्तिहरुमा रहेको संक्रमणले देखिएको छ। यस्तो अवस्थामा माथिको उल्लेखित विश्व स्वास्थ्य संगठनले अघिसारेको रणनीतिमा अझै पनि हामी चुक्ने हो भने अथवा ढिलाइ गर्ने हो भने महामारी प्रत्येक टोलमा हुने निश्चित छ।
यही अवस्थालाई मध्यनजर गरेर स्वास्थ्य मन्त्रालयले केश अनुसन्धान तथा कन्ट्याक्ट खोज पड्ताल टिम परिचालन निर्देशिका जारी गरी प्रत्येक पालिकालाई गठन गर्न निर्देशन जारी गरेको छ। तर यसको महत्वको बुझाइमा अपरिपक्वता रहेको पाइयो।
विशेषत अहिलेसम्म हेर्दा असाध्यै कम पालिकाहरुले गठन गरेको पाइन्छ, गठन भएकाहरु पनि आँफ्नै स्वास्थ्य फाँटमा त्यो योग्यता (कम्तिमा जनस्वास्थ्य मा स्नातक गरेको) भएको व्यक्ति भए गरेको अन्यथा मौन बसेको पाइन्छ।
पालिकाका प्रमुखहरु त अनविज्ञ हुनुभयो अथवा के हो भनेर पहलकदमी लिन सक्नुभएन राहत वितरणमा रनभुल्ल हुनुभयो तर हामी स्वास्थ्य फाँट हाकेका भनिएका प्रमुखहरुले यो निर्देशिकाको महत्वलाई गुमनाम बनाउन खोज्यौं भने त्यो पालिकाको असक्षम फाँट भनेर यो covid कै महामारीमा स्थापित हुनेछ।
त्यसैले समग्र स्वास्थ्यलाई बदनाम र पछि धकेल्ने काम हुनेछ। अझ अगाडी हेर्ने हो भने कतिपयले त यो निर्देशिकाको धज्जी उडाएको देखिन्छ, निर्देशिकालाई लत्याएर जनस्वास्थ्यमा स्नातक गरेको स्वास्थ्यकर्मी नपाएको नाममा (जबकी त्यही दातृनिकायका स्वास्थ्य परियोजना चलेकाछन् जसलाई विज्ञ स्वास्थ्यकर्मीले नेतृत्व गरेका छन्) फेरि उही तहका आधारमा तल्लो अध्ययन योग्यता भएका व्यक्तिलाई अघिसारी गठन गरेका छन् यो अकर्मण्यताका कारणले महत्वपूर्ण क्षेत्र स्वास्थ्य जर्जर हुनेवाला छ। यो गर्नुको पछाडीको मनोविज्ञान विभिन्न जिल्लाबाट आएको सूचनालाई मन्थन गर्ने हो भने म वाद देखिन्छ।
अझ प्रष्ट भन्ने हो भने आफ्नो गरिमा पद र काम ओझेलमा पर्छ, आफ्नो असक्षमताको पराकाष्ट समाजले थाहा पाउँछ कि भन्ने डर बुझिन्छ तर यो मनोबैज्ञानीक डर मात्र हो। यस्तो टिम (CICTT)गठन गरेमा उहाँहरूकै (स्वास्थ्य फाँट समग्रमा पालिका कै) काम सबल देखिन्छ। उहाँको लागि सहयोग हुनसक्छ जसले पालिका कै समग्र स्वास्थ्य गतिविधिलाई नयाँ आयाम ल्याउन सहयोग गर्छ।
यो महामारीमा स्वास्थ्यले सफलता र सक्षमता प्रदर्शन गर्ने हो भने त्यसलाई नेतृत्व गर्ने फाँट नै सफल हुने हो। यो टिम त महामारीमा मात्र सहयोग गर्ने हो। त्यसैले यो भ्रमलाई गलत्याउन आँट गर्नुपर्छ र सिंगो समाजको स्वास्थ्यमा खेलबाड गर्नु हुँदैन, नत्र समयले कठघरामा उभ्याउने छ र त्यतिबेलाको मनोविज्ञान झन् भयावह हुनेछ। त्यसैले आज, अहिले नै यो आवश्यकतालाई मनन गरौं पुरानो ढर्राबाट माथि उठौँ र समग्र स्वास्थ्य र पालिकालाई सही निर्देश गरौ।