स्कर्पियो र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, एक घाइते
कपिलवस्तु, साउन १७ — कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित आलोक होटल अगाडि स्कर्पियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने एक युवती घाइते भएकी छन्।
शनिबार राति लुम्बिनी प्रदेश ०१–००१ च २०५४ नम्बरको महिन्द्रा स्कर्पियो र लु १४ प ५१९० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक शिवराज नगरपालिका–२, हल्लानगर निवासी १८ वर्षीय शिखर सेन्चुरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार शिवराज नगरपालिका–२ निवासी २१ वर्षीया शोभा श्रीपाली घाइते भएकी छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न स्कर्पियो चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















