महिला अधिकार प्रवर्द्धनमा शिवराजको नयाँ पहल : चन्द्रौटामा एसीसहितको घुम्ती स्तनपान कक्ष सञ्चालनमा
कपिलवस्तु, साउन २० -महिला तथा शिशुको स्वास्थ्य अधिकारलाई प्राथमिकता दिँदै शिवराज नगरपालिकाले चन्द्रौटा मुख्य चोकमा एसीसहितको घुम्ती स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ। आमा र शिशुले सार्वजनिक स्थानमा सहज, सुरक्षित र गोपनीय वातावरणमा स्तनपान गर्न सकून् भन्ने उद्देश्यका साथ निर्माण गरिएको उक्त कक्षको आज एक समारोहबीच उद्घाटन गरिएको हो।
करिब ५ लाख ८० हजार रुपैयाँको लागतमा निर्माण गरिएको स्तनपान कक्षबाट बजार तथा सार्वजनिक स्थानमा आउने स्तनपान गराइरहेका आमाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने नगरपालिकाले जनाएको छ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख अजय थापाले आमा र शिशुको स्वास्थ्य संरक्षण तथा महिला अधिकार सुनिश्चित गर्न नगरपालिकाले थालेको यो पहल उदाहरणीय रहेको बताउँदै आवश्यकताअनुसार यस्ता सेवाहरू थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपप्रमुख शिवकुमारी थारुले सार्वजनिक स्थानमा स्तनपान गराउनुपर्ने आमाहरूका लागि यो कक्ष ठूलो राहत हुने विश्वास व्यक्त गर्दै आमा–शिशुमैत्री वातावरण निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेले नगरपालिकाको पहलको प्रशंसा गर्दै व्यापारिक क्षेत्रलाई समेत आमा–शिशुमैत्री बनाउन निजी क्षेत्रले सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।
मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु खतिवडाले स्तनपान गराउने आमाको अधिकार सुनिश्चित गर्न सार्वजनिक स्थानमा यस्ता स्तनपान कक्ष आवश्यक रहेको उल्लेख गर्दै शिवराज नगरपालिकाको यो कदम स्वागतयोग्य भएको बताउनुभयो।
त्यसैगरी, शान्ति पुनःस्थापना गृहका प्रतिनिधि सुशीला खनालले विगतको एक मार्मिक घटना स्मरण गर्दै भन्नुभयो, “एक पटक अत्यधिक गर्मीका बेला सार्वजनिक स्थानमा आफ्ना सानो शिशुलाई स्तनपान गराइरहेकी एक आमाले निकै कठिन अवस्था भोग्नुपरेको थियो। गर्मीका कारण बच्चा बेहोससमेत भएको घटना हामीले देखेका थियौं।
यस्ता पीडादायी घटना दोहोरिन नदिन शिवराज नगरपालिकाले सञ्चालनमा ल्याएको स्तनपान कक्ष अत्यन्त सकारात्मक, समयसापेक्ष र महिलामैत्री पहल हो।” उहाँले महिलाको सम्मान, स्वास्थ्य र अधिकार सुनिश्चित गर्न यस्ता सेवाको विस्तार आवश्यक रहेको पनि बताउनुभयो।
स्तनपान कक्षको नियमित रेखदेख तथा व्यवस्थापनको जिम्मेवारी शान्ति पुनःस्थापना गृहलाई दिइएको छ।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयवासी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















