शनिबार पनि गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा
कपुरी डेक्स ।
कपिलवस्तु । सामान्यतया कार्यालय बन्द रहने शनिबार पनि शिवराज नगरपालिका–४ को बन्कट्टी गाउँमा सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गरिएको छ। ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीलाई वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले वडा कार्यालयले शनिबार गाउँमै पुगेर सेवा दिएको हो।
वडा कार्यालयको नीति तथा कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको शिविरमा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य गरी ९५ जना लाभग्राहीको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको वडा नं. ४ का वडा सचिव तथा चनई स्वास्थ्य कार्यालयका प्रमुख प्रकाश पोखरेलले जानकारी दिनुभयो।
शिविर उद्घाटन कार्यक्रममा वडा नं. ४ का अध्यक्ष खाँले आफू निर्वाचित भएर आएदेखि नै लाभग्राहीको सहजताका लागि गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गर्दै आएको बताउनुभयो।
वडाको भौगोलिक बनावटका कारण विशेषगरी ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीलाई वडा कार्यालयसम्म पुग्न कठिनाइ हुने भएकाले सम्बन्धित गाउँमै पुगेर सेवा प्रदान गरिएको उहाँले बताउनुभयो।
अध्यक्ष खाँका अनुसार लाभग्राहीको सुविधालाई ध्यानमा राख्दै असोज महिनासम्म प्रत्येक शनिबार विभिन्न गाउँमा सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गरिनेछ। कार्यालयमा आएर सेवा लिन कठिनाइ हुने लाभग्राहीलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शनिबारलाई शिविर सञ्चालनको दिनका रूपमा प्रयोग गरिएको उहाँले बताउनुभयो।
कार्यक्रम वडा सचिव तथा चनई स्वास्थ्य कार्यालयका प्रमुख प्रकाश पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















