कपुरी अनलाइन
सारा कथा
केही महिना पहिले म एउटा अन्तराष्ट्रिय कार्यक्रममा सहभागी हुने अवसर पाएको थिए । ३ दिनसम्मको त्यो कार्यक्रममा विश्वका २० वटा भन्दा बढी देशहरुबाट सहभागिता थियो ।
“क्रिया” भन्ने भारतीय संस्थाले आयोजना गरेको “रिकन्फ्रेन्स” नामक त्यो कार्यक्रम पूर्ण रुपमा यौनिकतासंग सम्बन्धित थियो । यौनिकताका विविध पक्षहरुलाई केलाइएको सो सेमिनारमा विश्वमा भइरहेका महिला आन्दोलनसंग सम्बन्धित यौनिकताका धेरै विषयहरुमा चर्चा गरिएको थियो ।
गर्भपतन, सहमति, अपांगता भएका व्यक्तिको यौनिकता, वातावरणिय न्याय, सुख र खतरा, यौन कार्य, यौन र लैगिक विविधता, खेल र प्रविधि लगायतका विषयमा चर्चा गरिएको सो सेमिनारका सबै विषयहरु उत्कृष्ट थिए । सबै विषयहरु मध्ये मलाई सोच्न वाध्य बनाएको एउटा विषय थियो “सहमति” त्यो पनि “यौनकर्मिसंगको सहमति” ।
त्यो सेमिनारमा विश्वमा भइरहेका महिला आन्दोलनहरुलाई केन्द्रविन्दुमा राखेर विश्लेषणात्मक चर्चाहरु गरिएको थियो जसमध्ये एउटा चर्चा विशेष थियो “सहमति”को जसलाई व्यक्तिको व्यक्तिगत जीवनदेखी लिएर यौनकर्मिसम्मको सहमतिलाई जोडेर हेरिएको थियो ।
सहमतिको कुरा गर्दा यसलाई हामीले के कति रुपमा बुझेका छौं ?र के कति रुपमा अवलम्बन अर्थात कार्यान्वयनमा ल्याएका छौं ? त्यो आफैमा एउटा चर्चाको विषय हुन सक्छ।
तर म आफैले व्यक्तिगत रुपमा सोच्दा“सहमति” गह्ु्रगो अर्थ बोकेर आएको शव्द तर बारम्बार कार्यान्वयन हुन नसकेर धज्जी उडेको जस्तो लाग्छ । बढ्दो किशोरअवस्थासंगै कुल्चिदै कुल्चिदै अगाडी बढीरहेको यो शव्द प्रेमको नाममा बारम्बार बलात्कार भएको जस्तो लाग्छ मलाई । “लड्की हँसी तो फसि” भन्ने सामाजिक मान्यता बोकेका यो समाजमा महिला वा किशोरीको सहमतिको कुनै महत्व नै देखिदैन ।
“आफ्नोसंग त के को सहमति ? अधिकार जमाएर लिने हो” भन्ने मानसिकतामा हामी हुर्किएका छौं । अझ विशेष गरि दुई जोडी बीचको सहमितलाई त हामी ध्यान नै दिदैनौं । मेरो श्रीमती हो वा ऊ मेरो पार्टनर हो, उसलाई मैले जे पनि गर्ने अधिकार छ र मैले चाहेको बेला ऊ तैयार हुनुपर्छ भन्ने धारणा अझै पनि पाइन्छ हाम्रो समाजमा ।
त्यो समिनारमा सहमतिको चर्चा व्यक्तिगत जीवनमा भएको यौन सहकर्मिसंगको मात्र होइन, यौनकर्मिको पनि सहमतिको कुरा गरिएको थियो । अष्ट्रेलिया र भारतबाट आएका यौनकर्मिहरुले आफ्नो व्यवसायको क्रममा भोगेका तीतो यथार्थहरुको अनुभव आदानप्रदान र उनिहरुले विश्वमा आफ्नो व्यवसायमा खोजिरहेको “स्वाभिमान” आफैमा एउटा आन्दोलन थियो ।
एकछिन कल्पना गरौं त, सहमति त्यो पनि यौनकर्मिसंग ? के आवश्यक छ होला ? आफ्नै पार्टनरको सहमतिको कुरालाई महत्व नदिने हाम्रो समाजमा यौनकिर्मको सहमतिको कुरा गर्दा लाग्न सक्छ, “यौनकर्मिको सहमति किन चाहियो ? उसले पैसा लिएको छ, र उसले गर्नुपर्छ त्यो पनि मेरो इच्छाअनुसार ।”
तर त्यहाँ भएका चर्चाहरुलाई सुन्दाम चाहिं फरक तरिकाले सोच्न थाले । व्यक्तिले व्यवसायत कुनै पनि गर्न सक्छ । व्यक्ति र व्यवसाय फरक कुरा हो । व्यक्तिको स्वाभिमान भन्दा ठूलो व्यवसाय कदापी हुन सक्दैन तसर्थ व्यसायलाई व्यवसायकै रुपमा हेर्न किन गाह्राे ? व्यसाय कुनै पनि व्यक्तिले आफ्नो जीवनयापन गर्ने विकल्पको रुपमा अपनाएको हुन्छ । तर त्यहि व्यवसायकै कारण उ अपमानित, अपहेलित र यतिसम्म कि पैसा तिरपछि उसको सहमतिको आवश्यकनै नहुने पनि हुन्छ र ? आफूलाई इच्छा नलाग्दा “मेरो सामान मबेच्दिन” भन्न सक्ने हैसियत हामीसंग छ तर एउटा यौनकर्मिलाई किन छैन ?
यो विश्वमा भइरहेको एउटा चर्चा थियो, जहाँ महिला यौनर्किमको अधिकारलाई केन्द्रविन्दुमा राखेर गरिएको थियो जुन मैले सुन्ने र देख्ने अवसर प्राप्त गरेको थिए ।
सहमतिलाई अत्यन्तै साधारण रुपमा बुझ्ने सरल उपाय भनेको– कुनै पनि कुरामा प्रष्ट रुपमा “हुन्छ” भनेर स्विकार गरिएको अवस्था बाहेकका सबै शव्दहरु “नाईअर्थात नो” भन्ने नै हो । यदि कुनै पनि व्यक्ति अर्को कुनै व्यक्तिसंग सबै कुरामा सहज महसुस गर्छ ।
हिड्न, डुल्न, घुम्न, अंकमाल गर्न तर यदि ऊ अंकमाल भन्दा अगाडी पुग्नको निम्ति सहज महसुस गर्दैन र आफ्नो त्यो व्यक्तिलाई “हुन्छ” नभनेर “खोइ” भनेर दोधारमा पर्छ भने भने त्यसको अर्थ “नो” भन्ने हो । र “नो” सधैं “नो” नै हुन्छ ।
साथै यदि कुनै पनि दुई व्यक्ति यौन क्रियाकलापकै लागी सहमतीकासाथ अगाडी बढेका छन् भनेपनि कुनै विन्दुमा पुगेर कुनै एक पक्षले आफ्नो सहमतिलाई रोक्न सक्छ ।
त्यस्तो अवस्थामा दोश्रो पक्षले “अगि त तिम्रै सहमतिमा हामी यो गर्दैछौं अब किन यस्तो” भनेर त्यो “नो” भन्ने व्यक्तिलाई दबाब दिनु हुदैन । अर्थात सहमति कुनै पनि विन्दुमा पुगेर रोक्न सकिन्छ ।
विशेषतः किशोरअवस्थामा गरिने प्रेमहरुमा किशोरीले “हुन्छ” भन्ने उत्तर नदिदाँ“किशोरीहरुले कसरी हुन्छ भन्न सक्छन्?उनिहरुले हुन्न भन्ने नै उनिहरुको हुन्छ भन्ने हो” भन्ने बुझाई आम किशोरहरुमा पाइन्छ । तर त्यो होइन । हाँस्नु, बोल्नु, हिड्नु, घुम्नु फरक कुरा हो र सहमति फरक कुरा हो । त्यसैगरि दुई जोडीबीच यौनका आशनहरुमा सहमति तोडिएको हुन्छ ।
“पर्टनरले भनिहाल्यो, नमान्दा उसलाई नराम्रो लाग्न सक्छ” भन्ने अवस्थामा व्यक्ति गुज्रिरहेको हुन्छ । यस्तोे अवस्थामाएउटा पक्षले सन्तुष्टि प्राप्त त गर्ला तर दोश्रो पक्षमा वितृष्णा उत्पन्न हुन्छ । मौनतालाई कहिले पनि “हो”भनेर बुझ्न हुदैन । मौन बस्नु भनेको “नाई” भन्नु हो भन्ने कुरा हामी सबैले बुझ्न आवश्यक छ । तर हामी “मौन स्विकृति” भन्दै हिडिरहेका हुन्छौं । मौन, त्यो पनि स्विकृति कसरी हुन्छ ? अचम्म लाग्छ । तसर्थ हामीले सामान्य रुपमा अर्को कुनै व्यक्तिसंग सम्बन्धित कुनै पनि कुरा गर्न लागेका छौं भने त्यहाँ “हुन्छ” भनेर प्रष्ट रुपमा शव्दमा बोल्नु आवश्यक हुन्छ, चाहे त्यो एक कप चिया खानको निम्ति किन नहोस् । र, यो नै सहमतिको सर्वव्यापी सिद्धान्त हो । यो बाहेकका अवस्थाहरु “नाई” भन्ने हो ।
जसलाई हामी कसैले पनि आफ्नो अनुसार बुझ्नु हुदैन । सहमतिको यहि सर्वव्यापी सिद्धान्तलाई मात्र बुझ्न सक्ने हो भने पनि महिला माथि हुने धेरै हिंसाहरुमा कमि आउन सक्छ ।
सन् २०१२ मा मैले अमिर खानले बनाएको “तलाश” भन्ने चलचित्र हेरेको थिए । सो चलचित्रमा अमिरखानले यौनकर्मिहरुको अस्तित्वको खोजी गरिरहेका थिए । एउटा साधारण व्यक्तिको हत्या हुदाँ हत्याराको खोजीमा लाग्ने प्रहरी प्रशासन एउटा यौनकर्मिको हत्या हुदाँ हत्याराको खोजी गर्न आवश्यकनै नसोच्ने हाम्रो सामाजिक सोचलाई त्यो चलचित्रमा देखाउन खोजिएको थियो । त्यतिबेलामैले त्यो चलचित्र चलचित्रको रुपमा मात्र हेरेको थिए ।
तर यो सेमिनारमा बसेपछि त्यो चलचित्रले उठाउन खोजेको विषयको गहिराईलाई मैले पुनः सम्झन पुगे ।अनि लाग्यो, यति विशेष कुराको उठान भएकै कारण त्यो चलचित्र फ्लप भएको रहेछ । फ्लप नहोस् पनि किन ? जहाँ हामी घरभित्रनै आफ्नो सहकर्मिसंगको सहमतिलाई महत्व दिन सकिरहेका छैनौं त्यहाँ यौनकर्मिको अस्तित्वको कुरा गर्दा स्वभाविक हो कसैले पनि बुझेन । यदि त्यो विषयको सट्टा कुनै मारधाड, हिरोइनको मौन स्विकृति र निरिहपन, हिरोको प्रेम कहानी हुदों हो त पक्कै पनि हिट हुन्थ्यो होला ।
सहमतिकै कुरा गर्दा म वरिष्ठ अधिवक्ता सपना मल्लको एउटा अन्र्तवार्ता सम्झन्छु । वैवाहिक बलात्कारको पक्षमा आवाज उठाउदा उहाँलाई कसलै एउटा पार्टीमा भनेको थियो रे “साँच्चिकै बलात्कारमा परेपछि थाहा होला बलात्कार को हो ?श्रीमान श्रीमतीको सम्बन्धलाई बलात्कारको नाम दिने ?” यो भनाईबाट नै हामी बुझ्न सक्छौं, वैवाहिक जीवनमा अर्थात व्यक्तिगत विस्तरामा सबैभन्दा बढी कुल्चिइएको हुन्छ यो “सहमति” भन्ने कुरा ।
श्रीमतीलाई पालेको छु, खान दिएको छु भन्ने नाउँमा ऊमाथि बारम्बार बलात्कार गरिन्छ । अधिकांश महिलाले आफ्नो जीवनमा भोगेको हुन्छ, आफ्नो इच्छा विपरित आफ्नो पार्टनरको लागि तैयार हुनुपर्दाका क्षणहरु ।
मलाई अहिले पनि एकजना महिलाको सम्झना आउँछ । म १६र१७ वर्षको छदाँ हाम्रो छिमेकीमा बस्ने एकजना महिला हुनुहुन्थ्यो जो दैनिक रुपमा धेरै पटक तैयार हुनुपथ्र्यो आफ्नो श्रीमानको लागि । एकदिन उहाँले मेरो आमासंग यो गुनासो पोख्दै गर्दा मैले संवादहरु सुनिरहेको थिए तर केही बुझ्न सकेको थिइन । मेरो आमाले “साथी संस्थामा जाऊ, त्यहाँ केही समाधान पाइन्छ होला” भनेको मात्र सम्झन्छु । केही महिनापछि सो महिलाको मृत्यु भयो । त्यतिबेला मेरो आमाले भन्नुभएको थियो “आखिर मारेरै छोड्यो त्यो फलानोले ।” आमाले त्यो पुरुषलाई सराप्दै हुनुहुन्थ्यो जसले त्यो महिलालाई त्यो अवस्थामा पुर्याएको थियो । तर त्यतिबेला मेरालागी यी सबै कुराहरुअनभिज्ञ थिए ।
अहिले सम्झदा लाग्छ त्यो महिला बारम्बार वैवाहिक वलात्कारमा परेकी थिइन् र उनले आफू तैयार नभएको जानकारी श्रीमानलाई गराउँदा उनि बारम्बार कुटिन्थिन् जसका कारण उनले आफ्नो देहत्याग गरिन् ।
विश्वले महिला यौनकर्मि र पुरुष यौनकर्मिको अधिकारको लडाई लडिरहदाँ हामी छोरा र छोरीबीचको लैगिक विभेदका लागि लडिरहेका छौं । विश्वले यौनकर्मिको “सहमति”को कुरा गर्दा हामी व्यक्तिगत जीवनमा हुने यौन सहमतिको कुरामा अल्झिएका छौं । कहाँ छौं हामी ? अझ कति वर्ष लाग्ने हो हामीलाई घरभित्रबाट निस्किएर यी र यस्ता थुप्रै विषयहरुमा वहस शुरु गर्नको निम्ति । अझ कति झेलिनुपर्ने हो हामी हाम्रै लडाईमा ?विभेद जहाँतहि छ ।“सहमति” जहाँ तहि कुल्चिइएको छ ।पेशाले एउटै भएपनि महिला यौनकर्मिसंग गरिने व्यवहार र पुरुष यौनकर्मिसंग गरिने व्यवहार फरक छ ।
पुरुष यौनकर्मि शानले आफ्नो मूल्य तोकेर समाजमा आफ्नो जीवन यापन गरिरहेको छ भन्ने तथ्यांक मैलेएउटा रिपोर्टमा पढेको थिए, तर त्यहि एउटा महिला यौनकर्मि भइन् भने उनले समाजमा कुनै स्थान नै पाउँदिनन्, जुन कटुसत्य हो ।
तसर्थ विभेद दुई वर्गबीच मात्र होइन वर्गभित्र पनि व्यक्ति व्यक्तिमा छ । र यो विभेदलाई हामीले हाम्रो दैनिक जीवनबाट नै न्यूनिकरण गर्न आवश्यक छ । हामी सचेत हुन आवश्यक छ हामीले गर्ने हरेक व्यवहारमा कतै यसले विभेदलाई बढावा दिएको त छैन ? र, हामी सचेत हुन आवश्यक छ प्रेमको नाममा कतै हामीले “सहमति”को धज्जि उडाएका त छैनौं ? एकपटक सोचौं, कतै हामीले पनि मौनतालाईनै सहमति भन्ने सोचर व्यवहार गरिरहेका त छैनौं ? सहमतिलाई एउटा कुनामा थन्काएका त छैनौं ?