लकडाउनको कारण विद्यालयले विधार्थीको नामसहित नतिजा सामाजिक सञ्जालमा राख्न थालेपछि यस्तो नगर्न सुदूरपश्चिमको प्रदेश शिक्षा विकास निर्देशनालयले निर्देशन दिएको छ।
काठमाडौं। सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयले परीक्षाको नतिजा सामाजिक सञ्जालमार्फत् सार्वनजिक नगर्न निर्देशन दिएको छ।
यसरी सामाजिक सञ्जालमा विद्यार्थीको नाम र पासरफेलसहित नतिजा सार्वजनिक गर्दा मनोवैज्ञानिक असर परेको भन्दै निर्देशनालयले त्यसरी नतिजा प्रकाशित गर्नर गराउनमा रोक लगाएको हो।
निर्देशनालयका कायममुकायम निर्देशक दुर्गादत्त विष्टले सुदूरपश्चित प्रदेशका शिक्षा विकास कार्यालय र स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूलाई त्यसरी नतिजा प्रकाशन तत्काल बन्द गराउन निर्देशन दिएका हुन्।
लकडाउनका बेला सामाजिक सञ्जालमार्फत् नतिजा सार्वजनिक गर्नै परेको खण्डमा विद्यार्थीको रोल नम्बर मात्र राखेर प्रकाशित गर्न विद्यालयहरूलाई निर्देशन दिन भनिएको छ।
लकडाउनका बेला विद्यालयहरूले नतिजा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएका छन्।
नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नाम र उनीहरू पास वा फेल भएको समेत नतिजामै उल्लेख गर्दै आएका छन्। जसले गर्दा विद्यार्थीहरूमा मनोवैज्ञानिक असर परेको भन्दै अभिभावकले गुनासो गर्दै आएका छन्।
यसमा शिक्षाविद्हरूले समेत विरोध जनाउँदै आएका थिए। विशेषगरी निजी विद्यालयहरूले यसरी नतिजा सार्वजनिक गर्दै आएको भन्दै तत्काल रोक लगाउन निर्देशन दिइएको निर्देशक विष्टले बताए।