गुल्मी – गुल्मीमा भारतबाट आएका ६८ जना व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
उनीहरु सबैजना गएको दुई हप्ताअघि २८ दिनसम्म सुनौली नाकामा क्वरेन्टीनमा बसेर स्वदेश फर्किएका थिए । भारतबाट आएका सबैजनालाई पालिकाहरुले चौध दिनसम्म क्वरेन्टीनमा राखेका थिए ।
प्रदेश प्रयोगशाला ल्याब रुपन्देहीमा किटको अभाव भएपछि पीसीआर टेष्टका लागि उनीहरुको स्वाब गण्डकी जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । परीक्षणका लागि पठाइएका ६८ जना व्यक्तिहरुको स्वाब रिपोर्ट नेगेटिभ आएको गुल्मीका प्रमुख जिल्ला अधिकरी भरतराज शर्माले जानकारी दिनु भएको छ ।
भारतबाट आएका व्यक्तिहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि क्वरेन्टीनमा बसेका कतिपय व्यक्तिहरु बिहीबार नै घर फर्किसकेका छन् भने अन्य व्यक्तिहरुलाई शुक्रबारसम्म आ-आफ्नो घर पठाउने तयारी गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताउनु भएको छ ।
भारतबाट आएकाहरुमा कोरोनाको सङ्क्रमण हुनसक्ने आशंकमा त्रसित बनेका स्थानीयहरु उनीहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि त्रास हटेको पोख्रेलले बताउनु भयो ।
दुई हप्तासम्म सीमानाकामा अलपत्रपरि बसेका ६८ जना मध्य धुर्कोट गाउँपालिकामा ५४ जना, रेसुंगा नगरपालिकामा ७ जना, मुसिकोट नगरपालिकाका ३ जना, चन्द्रकोट गाउँपालिकाका २ जना र मदाने र रुरुक्षेत्र गाउँपालिकामा एक/एक जना गरी ६८ जनालाई स्थानीय पालिकाहरुले क्वरेन्टीनमा राखेका थिए ।