कपिलवस्तु, साउन १६ — कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित सुरही पुलमुनि रहेको खोलामा नुहाउने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवराज नगरपालिका–४, बनकटी निवासी २६ वर्षीय विजय जयसवाल रहेका छन्। शुक्रबार दिउँसो साथीहरूसँग नुहाउन गएका जयसवाल अचानक खोलामा डुबेर बेपत्ता भएका थिए।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरी उनलाई खोलाबाट बाहिर निकालेको थियो। गम्भीर अवस्थामा उद्धार गरिएका जयसवाललाई उपचारका लागि चन्द्रौटास्थित आधारभूत अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार शव आधारभूत अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।