महाराजगञ्ज, कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा रहेको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त फलाहरी बाबा बहुमुखी क्याम्पसमा सूचनाको हकसम्बन्धी कानुनको उल्लंघन भएको आरोप सार्वजनिक भएको छ।

क्याम्पसको सञ्चालन विधान तथा नियमावली माग गर्ने अभिषेक मणि यादव आफूले सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम सूचना माग गर्दै निवेदन दिएको बताएका छन्। उनका अनुसार क्याम्पस प्रमुखले निवेदन हातमा लिए पनि दर्ता किताबमा दर्ता गरी दर्ता नम्बर दिन अस्वीकार गरेका थिए।

त्यसपछि यादवले महाराजगञ्ज हुलाक कार्यालयमार्फत रजिस्ट्री हुलाक नम्बर RD023962815NP बाट औपचारिक रूपमा निवेदन पठाएको बताए। कानुनले तोकेको समयसीमा बितिसक्दा समेत माग गरिएको सूचना उपलब्ध नगराइएको उनको आरोप छ।

हरिजनका अनुसार क्याम्पस सञ्चालन समितिले क्याम्पसको विधानलाई ‘गोप्य दस्ताबेज’ भन्दै सार्वजनिक गर्न नमिल्ने निर्णय गरेको छ। उनले नेपालको संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले प्रत्याभूत गरेको अधिकारमाथि प्रश्न उठेको भन्दै क्याम्पसको विधान सार्वजनिक गर्न माग गरेका छन्।

उनले सूचनाको हक कार्यान्वयनमा अवरोध गर्ने सम्बन्धित अधिकारीमाथि छानबिन गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने मागसमेत गरेका छन्। साथै, महाराजगञ्ज नगरपालिकामा रहेको क्याम्पसमा पारदर्शिता र जवाफदेहिता कायम गर्न सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने बताएका छन्।
यस विषयमा क्याम्पस प्रशासन तथा सञ्चालन समितिको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक हुन बाँकी छ।

Oplus_131072