लालपुर, शिवराज नगरपालिका कपिलवस्तु ।

शिवराज नगरपालिका वडा नं. १० मा आगामी निर्वाचनलाई लक्षित गर्दै विष्णुदत्त मिश्र भावी उम्मेदवारका रूपमा चर्चामा आएका छन्। वडाको समग्र विकास, प्रभावकारी सेवा प्रवाह र जनताको आवश्यकतालाई प्राथमिकतामा राख्दै मिश्रले विभिन्न विकासका एजेन्डा अघि सारेका छन्।

मिश्रले वडा नं. १० लाई व्यवस्थित, समृद्ध र जनमुखी वडा बनाउने लक्ष्यसहित ७ वटा प्रमुख एजेन्डा सार्वजनिक गरेका छन्। उनले वडाको प्रशासनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनेदेखि भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा पर्यटन प्रवर्द्धनसम्मका विषयलाई प्राथमिकतामा राखेका छन्।

उनका प्रमुख एजेन्डामा वडाको प्रशासनिक सेवा प्रवाहमा सुधार, भौतिक पूर्वाधार विकासको नयाँ मोडेल, समान र सेवामुखी सेवा प्रवाह, जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता, उत्तर–दक्षिण समन्वयात्मक विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार र साप्ताहिक हाटबजार तथा पर्यटन क्षेत्रको प्रवर्द्धन रहेका छन्।

मिश्रले आफू निर्वाचित भएमा वडामा हुने विकास निर्माणका कामलाई पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। विकासका योजनाहरू कागजमा मात्र सीमित नराखी जनताको प्रत्यक्ष सहभागितामा प्राथमिकता निर्धारण गरी कार्यान्वयन गर्ने उनको भनाइ छ।

त्यस्तै, वडाका सबै टोल र बस्तीलाई समान दृष्टिकोणबाट हेर्दै आवश्यकताका आधारमा विकासका योजना अघि बढाउने, युवालाई सीप र रोजगारीसँग जोड्ने तथा स्थानीय उत्पादन र व्यवसायलाई प्रोत्साहन गर्ने योजना पनि मिश्रले अघि सारेका छन्।
“वडा नं. १० लाई नमुना वडा बनाउने लक्ष्यका साथ दीर्घकालीन योजना र स्पष्ट दृष्टिकोणसहित अघि बढ्नेछु। जनप्रतिनिधि शासक होइन, जनताको सेवक हुनुपर्छ भन्ने मान्यताका साथ काम गर्ने मेरो प्रतिबद्धता हो,” मिश्रले भने।
उनको उम्मेदवारीसँगै वडा नं. १० मा आगामी निर्वाचनको राजनीतिक माहोलसमेत थप तातिन थालेको स्थानीयको भनाइ छ। मिश्रले अघि सारेका विकासका एजेन्डा र उनको उम्मेदवारीले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।