कपिलवस्तु, असार ३०। फरक पहिचान समाज नेपालकी अध्यक्ष वर्षा सिंह ठकुरीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय घरदेखि सार्वजनिक स्थलसम्म पनि पूर्ण रूपमा सुरक्षित महसुस गर्न नसकेको बताएकी छन्। लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना तथा फरक पहिचान समाज नेपालको समन्वयमा आयोजित प्रादेशिक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेकी हुन्।

कार्यक्रमका प्रमुख अतिथि तथा संविधानसभा सदस्य सुनिलबाबु पन्तले संविधानले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान र समानताको हक सुनिश्चित गरे पनि केही कानुन अझै विभेदकारी रहेको र कार्यान्वयनमा चुनौती देखिएको बताए। उनले अधिकारको प्रभावकारी कार्यान्वयनसँगै दुरुपयोग हुन नदिन पनि ध्यान दिनुपर्ने उल्लेख गरे।

कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरूलाई प्रशिक्षणात्मक सहजीकरणसमेत गरिएको थियो। कार्यक्रम सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो।