शिवराजमा मेयरका सम्भावित अनुहारबारे बहस, युवा इन्जिनियर सुसन अधिकारी चर्चामा
कपुरी,डेक्स।
कपिलवस्तु। देशभर Gen Z नेतृत्व, सुशासन र पारदर्शितामुखी राजनीतिबारे बहस तीव्र बन्दै गइरहेका बेला कपिलवस्तुको शिवराज नगरपालिकामा पनि आगामी मेयरका सम्भावित युवा अनुहारबारे चर्चा सुरु भएको छ। सामाजिक सञ्जाल र स्थानीय राजनीतिक वृत्तमा २७ वर्षीय कम्प्युटर इन्जिनियर सुसन अधिकारीको नाम पछिल्लो समय उल्लेखनीय रूपमा चर्चामा आएको देखिन्छ।
शिवराज स्थायी घर भएका अधिकारी हाल काठमाडौंमा सूचना प्रविधि क्षेत्रमा कार्यरत छन्। कम्प्युटर इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका उनले शिक्षण तथा प्राविधिक शिक्षा क्षेत्रमा समेत काम गरिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध अधिकारीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत शिवराजको शिक्षा, सुशासन, सेवा प्रवाह, विकास र डिजिटल प्रणालीका विषयमा नियमित रूपमा आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन्। विशेषगरी SEE नतिजासम्बन्धी उनको टिप्पणीपछि स्थानीयस्तरमा उनको चर्चा थप बढेको बताइन्छ।
अधिकारीले विकासका लागि व्यक्तिको इच्छाशक्तिभन्दा बलियो प्रणाली आवश्यक रहेको बताउँदै योजना, बजेट, टेन्डर, कार्यप्रगति र भुक्तानी प्रक्रियालाई डिजिटल माध्यमबाट नागरिकले समेत अनुगमन गर्न सक्ने व्यवस्था हुनुपर्ने अवधारणा अघि सारेका छन्। साथै, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र सूचना प्रविधिलगायत क्षेत्रका विज्ञहरूको सुझावका आधारमा विकास योजना बनाउनुपर्ने र प्रत्येक तीन महिनामा “मेयरसँग जनता” कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा पनि उनले सार्वजनिक गरेका छन्।
यद्यपि, सुसन अधिकारीले हालसम्म शिवराज नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने कुनै औपचारिक घोषणा गरेका छैनन्। त्यसैले उनको नामबारे भइरहेको चर्चा र बहसलाई स्थानीय राजनीतिक चासोका रूपमा हेरिएको छ भने आगामी दिनमा उनले औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने वा नउत्रिने विषय भने खुल्न बाँकी छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















