वडा अध्यक्षको सक्रिय पहलपछि शिवराज–३ मा ट्यांकरबाट खानेपानी वितरण सुरु
कपुरी डेक्स । लामो समयदेखि खडेरी र वर्षा अभावका कारण खानेपानीको चरम समस्या झेलिरहेका शिवराज नगरपालिका–३ का बासिन्दाका लागि वडा अध्यक्षको सक्रिय पहलमा ट्यांकरमार्फत खानेपानी वितरण सुरु गरिएको छ। वडा कार्यालयको यस पहलले पानीको अभाव झेलिरहेका स्थानीयवासीमा राहत मिलेको छ।
वडा समितिको असार २१ गते बसेको बैठकको निर्णयअनुसार सोनवर्षी डिप बोरिङबाट ट्यांकरमार्फत खरेन्द्रपुर चोक, सोनवर्षी, शान्ति टोल, हंसवाहिनी टोल, स्वर्गद्वारी आश्रम टोल र मदवा डाँडा टोलमा तोकिएको समयअनुसार खानेपानी वितरण गरिने भएको हो।
वडा कार्यालयले प्रत्येक घरधनीलाई करिब १०० लिटर अट्ने भाँडाको व्यवस्था गरी तयारी अवस्थामा रहन आग्रह गरेको छ। साथै, विद्युत् आपूर्तिमा समस्या आएमा वितरण समय केही परिवर्तन हुन सक्ने र आवश्यक परेका अन्य बस्तीमा पनि ट्यांकरमार्फत पानी उपलब्ध गराइने जनाएको छ।
स्थानीयवासीले खानेपानी संकटका बेला वडा अध्यक्षले देखाएको सक्रियता र चासोको प्रशंसा गर्दै यस पहलले ठूलो राहत पुगेको बताएका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















