कपिलवस्तु, असार १८। कपिलवस्तुका एम्बुलेन्स चालकहरूले आफ्ना सहकर्मी चालकमाथि भएको प्रहरी कारबाहीको विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन्। एम्बुलेन्स चालक संघ, जिल्ला कपिलवस्तुको आह्वानमा मिति २०८३ असार १९ गते बिहान ८ बजे गोरुसिङेमा सम्पूर्ण एम्बुलेन्ससहित अनिवार्य रूपमा उपस्थित हुन चालकहरूलाई निर्देशन दिइएको छ।
संघका अनुसार असार १७ गते शिवराज नगरपालिकाबाट सख्त बिरामी लिएर बुटवलतर्फ जाँदै गरेको एम्बुलेन्सबाट बाटोमा एउटा गाईको बाच्छीलाई ठक्कर लागी मृत्यु भएको थियो। उक्त घटनापछि प्रहरीले सम्बन्धित एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिई म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाएको छ।
यस घटनालाई लिएर चालकहरूले बिरामी बोकेर सेवा दिँदै गरेको अवस्थामा भएको दुर्घटनालाई संवेदनशील रूपमा हेर्नुपर्ने भन्दै पक्राउ परेका चालकलाई रिहा गर्न, प्रहरीको कारबाही फिर्ता लिन तथा यस्ता घटनामा एम्बुलेन्स सेवाको विशेष प्रकृतिलाई ध्यानमा राखी कानुनी व्यवस्था लागू गर्न माग गरेका छन्।
एम्बुलेन्स चालक संघका जिल्ला अध्यक्ष कमल घिमिरेको निर्देशनमा जारी सूचनामा आन्दोलनमा सहभागी हुन सम्पूर्ण चालकलाई आग्रह गरिएको छ। साथै, आन्दोलनमा सहभागी नहुने चालक वा एम्बुलेन्सलाई भविष्यमा संघबाट गरिने सहयोग तथा समर्थनको जिम्मेवारी नलिइने चेतावनीसमेत दिइएको छ।
यद्यपि, एम्बुलेन्स चालकहरूको आन्दोलनका कारण केही समयका लागि आकस्मिक स्वास्थ्य सेवामा असर पर्न सक्ने र बिरामीलाई असहज अवस्था सिर्जना हुन सक्ने भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन्। त्यसैले बिरामीको जीवनरक्षासँग प्रत्यक्ष जोडिएको एम्बुलेन्स सेवा अवरुद्ध नहुने गरी सम्बन्धित निकाय, प्रहरी प्रशासन र एम्बुलेन्स चालक संघबीच तत्काल संवाद र समन्वय गरी समस्याको शीघ्र समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।