रतावल सामुदायिक वनद्वारा विद्यालयलाई ३५ थान सिलिङ पङ्खा वितरण
कपुरी डेक्स।
शिवराज नगरपालिका–५, कपिलवस्तु। रतावल सामुदायिक वन उपभोक्ता समूहले शिक्षा क्षेत्रलाई सहयोग गर्ने उद्देश्यले श्री राष्ट्रिय माध्यमिक विद्यालय, चन्द्रौटा र श्री आधारभूत विद्यालय, मदवालाई कुल ३५ थान सिलिङ पङ्खा वितरण गरेको छ।
सामुदायिक वनले श्री राष्ट्रिय माध्यमिक विद्यालय, चन्द्रौटालाई २५ थान तथा श्री आधारभूत विद्यालय, मदवालाई १० थान गरी कुल ३५ थान सिलिङ पङ्खा हस्तान्तरण गरेको हो। पङ्खा वितरणपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गर्मी मौसममा थप सहज वातावरणमा पठनपाठन गर्न सक्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै श्री राष्ट्रिय माध्यमिक विद्यालय, चन्द्रौटाका प्रधानाध्यापक प्रकाश अधिकारी ले विद्यालयको आवश्यकता महसुस गरी सहयोग गरेकोमा रतावल सामुदायिक वनप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
रतावल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष उत्तम थारू ले सामुदायिक वनले वन संरक्षणसँगै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा पनि निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले समुदायको आवश्यकताअनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
शिवराज नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नेत्रप्रसाद बेल्वासे ले सामुदायिक वनको यो सहयोग अनुकरणीय रहेको बताउँदै शिक्षा क्षेत्रको विकासमा स्थानीय संस्थाहरूको योगदान महत्वपूर्ण हुने धारणा राख्नुभयो। उहाँले विद्यालय र समुदायबीचको सहकार्यले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु भुसाल ले विद्यार्थीहरूको हितलाई केन्द्रमा राखेर गरिएको सहयोगका लागि रतावल सामुदायिक वनलाई धन्यवाद दिँदै यस्ता सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधारमा टेवा पुग्ने बताउनुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, वन उपभोक्ता समूहका पदाधिकारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले शिक्षा क्षेत्रमा सामुदायिक वनले देखाएको सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रम जारी रहने अपेक्षा व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















