बुटवल जेष्ठ २३

कानुन विद्यार्थी समाजद्वारा आयोजित “प्रहरीसँग कानुनका विद्यार्थी अन्तरक्रिया कार्यक्रम” आज बुटवल–११ बेलबासस्थित नमस्ते पार्टी प्लेसमा भव्य रूपमा सम्पन्न भएको छ।


कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले विद्यार्थीहरूलाई व्यवहारिक कानुनी ज्ञान, अनुशासन, नागरिक जिम्मेवारी तथा प्रहरी–नागरिक सम्बन्धबारे विस्तृत रूपमा जानकारी दिनुभयो। उहाँले समाजमा बढ्दो साइबर अपराध नियन्त्रण, लागूऔषध दुरुपयोग रोकथाम, अपराध न्यूनीकरण तथा सचेत नागरिक निर्माणमा कानुन विद्यार्थीहरूको भूमिकाबारे महत्वपूर्ण सुझाव दिनुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा कानुन विद्यार्थी समाजका अध्यक्ष बिवस पाण्डेले यस्ता सचेतनामूलक कार्यक्रमहरूले विद्यार्थीहरूमा कानुनी चेतना अभिवृद्धि गर्नुका साथै सभ्य समाज, सुयोग्य परिवार र समृद्ध राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा अन्तरक्रिया सत्र, प्रश्नोत्तर, अनुभव आदानप्रदान तथा प्रमाणपत्र वितरण गरिएको थियो। छलफलमा नागरिक दायित्व, साइबर अपराध, लागूऔषध दुरुपयोग नियन्त्रण, अपराध न्यूनीकरणका उपायहरू तथा कानुन विद्यार्थीको व्यावहारिक भूमिकाबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको थियो।
उक्त कार्यक्रमले कानुनी चेतना अभिवृद्धि, नेतृत्व विकास तथा व्यवहारिक ज्ञान विस्तारमा महत्वपूर्ण योगदान दिएको आयोजकले जनाएको छ।