काठमाडौं, फागुन १४ – भदौ २३ र २४ गते काठमाडौंमा भएको प्रदर्शन, मुठभेड, आगजनी र तोडफोडका घटनामा ‘हामी नेपाल’का अध्यक्ष सुदन गुरुङ, काठमाडौं महानगरका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन) तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको सम्भावित सहकार्यबारे विभिन्न प्रश्न उठेका छन्।

उक्त दिन माइतीघरबाट सुरु भएको जेन–जी प्रदर्शन नयाँ बानेश्वर क्षेत्र हुँदै संसद् भवन आसपास पुग्दा तनावग्रस्त बनेको थियो। सीसीटीभी फुटेज तथा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीमा ‘हामी नेपाल’का ज्याकेट लगाएका व्यक्तिहरू विभिन्न स्थानमा सक्रिय देखिएको दाबी गरिएको छ। कतिपय भिडियोमा कम्ब्याट पोशाक र माकलटोपी लगाएका व्यक्तिहरू देखिनुले घटनाको प्रकृतिबारे थप जिज्ञासा बढाएको छ।

बालबालिकाको सहभागितामाथि चिन्ता
प्रदर्शनमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका समेत सहभागी भएको देखिएको छ। बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि र राष्ट्रिय कानूनअनुसार नाबालकलाई हिंसात्मक प्रदर्शनमा सहभागी गराउनु गम्भीर विषय मानिन्छ। विभिन्न चिकित्सक तथा विश्लेषकहरूले यसप्रति सार्वजनिक रूपमा चिन्ता व्यक्त गरेका छन्।

आयोजकत्व र राजनीतिक सम्बन्ध
सुदन गुरुङले सुरुमा आफू आन्दोलनको आयोजक नभएको बताएका भए पनि पछि दिएको अन्तर्वार्तामा आयोजकत्व स्वीकार गरेका छन्। उनी पछिल्लो समय रास्वपामा प्रवेश गरी प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्।
यसैबीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शनमा योजनाबद्ध घुसपैठ भएको र बालबालिकालाई अगाडि सारिएको आरोप लगाएका छन्। अर्कोतर्फ आयोजक पक्षले सरकारी दमन र गोली प्रहारलाई हिंसात्मक अवस्थाको कारण ठहर गर्दै आएका छन्।

छानबिन प्रतिवेदन प्रतीक्षामा
भदौ २३–२४ का घटनाबारे सत्यतथ्य छानबिन गर्न गठित आयोगले हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन। घटनामा कसको कति भूमिका रह्यो भन्ने विषयमा स्पष्ट निष्कर्ष आयोगको प्रतिवेदनपछि मात्रै आउने अपेक्षा गरिएको छ।