पत्रकार चिन्ता परियारको एजेन्डा नं. २ : युवालाई रोजगारी
चन्द्रौटा,कपिलवस्तु ।
परम्परागत राजनीति र पुराना नाराबाट आजित बनेका मतदातामाझ नयाँ सोच र स्पष्ट योजनासहित स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका युवा पत्रकार चिन्ता परियारले आफ्नो चुनावी एजेन्डा नं. २ अन्तर्गत युवा रोजगारीलाई मूल मुद्दा बनाएका छन्।
देशमा बढ्दो बेरोजगारी, सीपविहीन युवा जनशक्ति र वैदेशिक रोजगारीमा जाने बाध्यतालाई अन्त्य गर्न दीर्घकालीन र व्यवहारिक योजना आवश्यक रहेको भन्दै परियारले यो एजेन्डा अघि सारेका हुन्।
परियारको प्रस्तावअनुसार १२ कक्षामा अध्ययनरत विद्यार्थी वा १८ वर्ष पूरा गरेका प्रत्येक युवालाई ६ महिनाको अनिवार्य सीप विकास तालिम प्रदान गरिनुपर्नेछ। उक्त तालिम युवाको रुचि, क्षमता र भविष्यको सम्भावनालाई आधार मानेर प्रविधि, कृषि, स्वास्थ्य, शिक्षा, निर्माण, पर्यटन, उद्योग, सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा सञ्चालन गरिने योजना छ। यसरी सीपयुक्त बनाइएका युवालाई तालिमपछि बेरोजगार बनाउने होइन, आफूले रोजेको क्षेत्रमा अनिवार्य १० वर्षसम्म जागिरको सुनिश्चितता गर्नुपर्ने परियारको धारणा छ।
उहाँका अनुसार रोजगार केवल जागिर दिनु मात्र होइन, युवाको भविष्य सुरक्षित गर्नु हो। त्यसैले १० वर्षे सेवा अवधिभर युवाले स्थायी आम्दानी, सामाजिक सुरक्षा र कामको सम्मान पाउनुपर्ने व्यवस्था राज्यले गर्नुपर्ने उहाँको जोड छ। यसले युवालाई कामप्रति जिम्मेवार बनाउने, सीपलाई व्यवहारमा प्रयोग गर्ने र देशभित्रै दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास परियारले व्यक्त गर्नुभएको छ।
एजेन्डाको अर्को महत्वपूर्ण पक्ष भनेको १० वर्षपछि स्वतः अवकाशको व्यवस्था हो। लामो समयसम्म एउटै पदमा सीमित भएर युवाको सिर्जनशीलता खुम्चिन नदिन, नयाँ पुस्तालाई अवसर दिन र अनुभवी युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न यो व्यवस्था आवश्यक रहेको परियारको भनाइ छ।
अवकाशपछि सरकारले सम्बन्धित युवालाई कम्तीमा ३० लाख रुपैयाँ पूँजी सहयोग उपलब्ध गराउनुपर्ने प्रस्ताव गरिएको छ।
उक्त रकम युवाले आफ्नै व्यवसाय, उद्योग, कृषि उद्यम, सेवा क्षेत्र वा स्वरोजगार सिर्जनामा लगानी गर्न सक्नेछन्। यसले सरकारी जागिरपछि पनि युवालाई राज्यमा निर्भर बनाउने होइन, रोजगारदाता बनाउने लक्ष्य राखिएको छ। परियारका अनुसार यस योजनाले एकातर्फ रोजगारी सिर्जना गर्नेछ भने अर्कोतर्फ देशको अर्थतन्त्रमा नयाँ ऊर्जा थप्नेछ।
चिन्ता परियारले यो एजेन्डाले वैदेशिक रोजगारीमा जाने युवाको संख्या उल्लेखनीय रूपमा घटाउने, गाउँ–समाजमै रोजगारी र उद्यम विकास गर्ने तथा युवामा पलायन होइन, राष्ट्र निर्माणको भावना जागृत गराउने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभयो, “युवालाई भाषण होइन, अवसर चाहिएको छ। देश बनाउने जिम्मा युवाकै काँधमा छ, त्यसका लागि राज्यले स्पष्ट नीति ल्याउनुपर्छ।”युवा रोजगारीलाई चुनावी नारा मात्र नभई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै परियारले आफ्नो एजेन्डा युवामैत्री, व्यवहारिक र भविष्य केन्द्रित रहेको दाबी गर्नुभएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























