नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप लिग टुमा रोमाञ्चक भिडन्त आज

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल डान्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।
युरोप भ्रमणलाई चुनौतिपूर्ण मानिए पनि नेपाली टोलीले लिग टू सिरिजमा शानदार सुरुआत गरेको छ। नेपालले सिरिजका पछिल्ला दुई खेलमा नेदरल्यान्ड्स र स्कटल्यान्डमाथि रोमाञ्चक जित हात पार्दै मनोबल उच्च बनाएको छ। टोलीले आजको खेलमा पनि त्यही लय कायम राख्ने लक्ष्य लिएको छ।
अघिल्लो खेलमा नेदरल्यान्ड्सविरुद्ध आरिफ शेखले ७८ रन र दीपेन्द्रसिंह ऐरीले ३८ रनको योगदान दिएका थिए। त्यसअघि स्कटल्यान्डविरुद्ध करण केसीले विस्फोटक ६५ रन प्रहार गर्दै नेपाललाई एक विकेटको नाटकीय जित दिलाएका थिए।
हालको प्रदर्शन हेर्दा नेपाली टोली सन्तुलित देखिन्छ। ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुआत गराइरहेका छन् भने मिडल अर्डरमा कप्तान रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र भीम सार्की स्थिर प्रदर्शनमा छन्। तल्लोक्रममा करण केसीले आक्रामक भूमिका निर्वाह गर्दै ‘फिनिसर’को भूमिकामा चम्किएका छन्।
बलिङतर्फ सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीको योगदान पनि उल्लेखनीय देखिएको छ।
विपक्षी टोली स्कटल्यान्डका लागि चाल्र्स टियर, रिची बेरिङ्टन, म्याथ्यु क्रस र ब्रेण्डन मक्कमुलन मुख्य खेलाडी हुनेछन्। उनीहरूको बलिङ आक्रमणमा माइकल लिस्क र ज्याक जार्भिस प्रभावकारी भूमिका खेलिरहेका छन्।
नेपाल र स्कटल्यान्डबीच हालसम्म भएका पाँच खेलमध्ये नेपालले चार खेलमा विजय हासिल गरेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





















