चन्द्रौटा, कपिलवस्तु ।
शिवराज नगरपालिकाले एक कार्यक्रमका बीच गरिब तथा विपन्न परिवारका २६ जना स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। गत आर्थिक वर्षदेखि माध्यमिक तहसम्म निःशुल्क शिक्षा लागू गरेको शिवराज नगरपालिकाले यसपटक उच्च शिक्षा अध्ययनमा समेत टेवा पुर्‍याउने उद्देश्यले छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरेको छ।

नेपाल आदर्श बहुमुखी क्याम्पस र समयथान बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूबाट प्राप्त निवेदनका आधारमा २६ जना विद्यार्थी छानिएको शिक्षा तथा युवा तथा खेलकुद शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माले जानकारी दिनुभयो।

कार्यक्रममा मन्तव्य राख्दै वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले सानो रकम भए पनि विद्यार्थीहरूको अध्ययनमा टेवा पुग्नेछ भन्ने आशा नगरपालिकाले लिएको बताउनु भयो । वहाँले  प्रत्येक विद्यार्थीलाई २० हजार रुपैयाँका दरले कुल ५ लाख २० हजार रुपैयाँ बराबरको छात्रवृत्ति हस्तान्तरण  गरेको जानकारीदिनु भयो ।

शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले नगरभित्रका गरिब तथा विपन्न परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति वितरण गरिएको बताउनु भयो । पौडेलले मेयर तथा उपमेयर उच्च शिक्षा अध्ययन सहयोग छात्रवृत्ति कार्यविधि २०८१ अन्तर्गत परिच्छेद-४ मा उल्लेखित छात्रवृत्ति वितरणको आधार अनुसार प्रत्येक विद्यार्थीलाई २० हजार रुपैयाँ उपलब्ध गराइएको जानकारी दिनुभयो।

नगर प्रमुख अजय थापाले एक विद्यार्थीले उच्च शिक्षाका लागि छात्रवृत्ति माग गरेपछि उक्त विषयले आफूलाई सोच्न बाध्य बनाएको बताउदै उहाँले मानव जीवनको सबैभन्दा ठूलो हतियार शिक्षा भएकोले  नगरपालिका माध्यमिक तहसम्म निःशुल्क शिक्षा लागू गरिसकेको उल्लेख गर्नुभयो। छात्रवृत्ति प्राप्त गर्दै कुमारी रिमा चौधरीले खुसी व्यक्त गर्दै यो रकमले मेरो अध्ययनमा ठूलो सहयोग पुग्नेछ बताइन्।

कार्यक्रममा शिवराज नगरपालिका अन्तर्गतका सबै वडाका अध्यक्षहरूको उपस्थितिमा छात्रवृत्तिको चेक वितरण गरिएको थियो।