कपिलवस्तुमा संरक्षित वन्यजन्तु निलगाईको शिकार गरेको आरोपमा एक जना युवक हतियारसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवराज नगरपालिका-२ का फरहान खाँन रहेका छन्।

गएराति करिब १ बजे स्थानियको सहयोगमा इलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी उदरपुरको संयुक्त टोलीले खाँनलाई महाराजगञ्ज-६ सानो बुटहनियास्थित उखुबारीबाट नियन्त्रणमा लिएको हो।

शिकारको क्रममा प्रयोग गरिएको बा.१७ च ८९० नम्बरको हाइलक्स गाडी, यूपी ५५ आर ६१७६ नम्बरको पीकअप, लु.५० प ४१२ नम्बरको मोटरसाइकल र एक भारतीय मोटरसाइकल समेत बरामद गरिएको छ।

खाँनको साथबाट प्रहरीले ६ थान गोली चक्कु लगायत शिकारमा प्रयोग गरिएका विभिन्न सामाग्री समेत बरामद गरेको छ।

मारिएको निलगाई प्रयोग गरिएका सवारी साधन हतियार तथा अन्य सामानहरू गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटामा बुझाइएको छ। घटनाबारे आवश्यक अनुसन्धान सहायक वन अधिकृत पहलमान सेर्बुजा मगरको नेतृत्वमा अगाडि बढाइएको छ।