शिवराज नगरपालिकाद्वारा ई-रिक्सा चालक अनुमतिपत्र प्रशिक्षणको आव्हान
दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिका कपिलवस्तुले ई-रिक्सा (तीन पाङ्ग्रे सवारी) चालक अनुमतिपत्र प्राप्त गर्न आवश्यक प्रशिक्षणका लागि सात दिनको अवधि तोकी इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरेको छ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले फागुन १ गते जारी गरिएको सूचनामा प्रशिक्षणका लागि आवश्यक शर्तहरू पालन गर्दै इच्छुक चालकहरूलाई सहभागी हुन अनुरोध गरिएको बताउनु भयो ।
पौडेलले नगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को नगरस्तरीय वार्षिक स्वीकृत मेयर रोजगार कार्यक्रम अन्तर्गत यो तालिम सञ्चालन गर्न लागिएको र सवारी चालक अनुमतिपत्रका लागि ट्रायल सम्बन्धित पूर्व तयारी प्रशिक्षण कार्यक्रम नगरस्तरबाट पहिलो पटक सञ्चालन गर्न थालिएको जानकारीदिनु भयो ।
नगरप्रमुख अजय थापाले व्यवसाय तथा सेवा प्रदान गर्दा सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । चन्द्रौटा क्षेत्रमा धेरै चालकहरू बिना अनुमतिपत्र सवारी सञ्चालन गरिरहेका सूचना आएको र कानुनी रूपमा अनुमति बिना सवारी चलाउँदा दुर्घटना भएमा गम्भीर कानुनी झमेलामा पर्नुका साथै आर्थिक नोक्सानी पनि व्यहोर्नु पर्ने अवस्था आउन सक्ने सम्भावना रहेकोले मेयर रोजगार कार्यक्रम अन्तर्गत छोटो अवधिको यो तालिम आयोजना गरिएको बताउनु भयो । थापाले यस अवसरको अधिकतम लाभ उठाउनका लागि अनुमति प्राप्त नगराएका चालकहरूलाई तालिममा सहभागी हुन अनुरोध गर्नुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























