KPL Premier Cup२०८१: मोतिनगर विजयी, खेल क्षेत्रको विकासमा प्रदेश सरकारको प्रतिबद्धता
अजय मिश्र, कपिलवस्तु, माघ २९
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ७ मा सम्पन्न KPL Premier Cup २०८१ को पहिलो संस्करणमा मोतिनगर क्रिकेट क्लब विजेता बन्न सफल भएको छ। माघ १२ गतेदेखि सुरु भएको प्रतियोगिता माघ २८ गते विधिवत रूपमा समापन भएको छ ।
प्रतियोगिताको समापन खेलमा कृष्णनगर नगरपालिका अन्तर्गतको बहादुरगंज क्रिकेट क्लब र शिवराज नगरपालिकाको मोतिनगर क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो।
मोतिनगरले १३१ रनको लक्ष्य दिएकोमा बहादुरगंज ५६ रनमै अलआउट भएपछि मोतिनगर च्याम्पियन घोषित भएको थियो ।
विजेता टोली मोतिनगरले रु. १ लाख १ हजार नगद उपविजेता बहादुरगंजले रु. ५१ हजार नगद पुरस्कार हात पार्नसफल भएका थिए । खेलको म्यान अफ द सिरिज युवराज सेन भएका थिए ।
युवा अमन सामाजिक विकास केन्द्र, अर्स चेरीटेबल फाउन्डेशन र नेपाल सामाजिक मञ्चको संयुक्त आयोजनामा सम्पन्न KPL Cup २०८१ मा कपिलवस्तुका २५ भन्दा बढी टोलीहरूले सहभागिता जनाएका थिए।
समापन समारोहमा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश अग्रवालको उपस्थिति रहेेको थियो ।
उहाँले प्रदेश सरकार खेलकुदको विकासमा प्रतिवद्ध रहेको भन्दै आगामी दिनमा विशेष सहयोग गर्ने आश्वासन दिनुभयो। साथै, खेल मैदान निर्माण तथा खेलाडीको प्रोत्साहनका लागि आगामी वर्ष विशेष बजेट छुट्याइने जानकारी दिनुभयो ।
पूर्वमन्त्री अर्जुनकुमार केसीले खेलकुदलाई रोजगारीसँग जोड्दै खेलाडीहरूको आत्मबल वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै, पूर्वमन्त्री ईश्वर दयाल मिश्रले कपिलवस्तुको पछाडि परेको क्षेत्रमा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने भन्दै प्रशंसा गर्नुभयो।
खेल संयोजक रहिश शाहले KPL Premier Cup २०८१ कपिलवस्तुको क्रिकेट इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
आयोजक मिर्जा राशिद बेग, अकरम पठान, रहिश शाह लगायतले आहोरात्र खटि प्रतियोगितालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















