दिपक खडका चन्द्रौटा कपिलवस्तु ।
शिवराज नगरपालिका वडा नं. ५ स्थित फफुरी कम्प्लेक्समा जडान गरिएको शुद्ध खानेपानी ट्याङ्कीको निरन्तर सरसफाई गर्दै आएका व्यवसायी कलिम हलवाईलाई नगरपालिकाले प्रशंसा-पत्र सहित सम्मान गरेको छ।
नगरप्रमुख अजय थापाले केही दिनअघि बजार अनुगमनको क्रममा हलवाईले नगरपालिकाले जडान गरेको खानेपानी ट्याङ्की वरिपरि सरसफाइ गरिरहेको देखेपछि सामाजिक सञ्जालमार्फत भिडियो पोष्ट गरि प्रशंसा व्यक्त गर्नु भएको थियो । उक्त कामको कदर गर्दै शिवराज नगरपालिकाले हलवाईलाई सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिनुभयो ।
हलवाई विगत केही वर्षदेखि शिवराज नगरपालिका वडा नं. ५, चन्द्रौटा बजारमा फलफूल व्यवसाय गर्दै आइरहेका छन् । सरसफाइ अभियानप्रति सचेत नागरिकको भूमिकामा रहेर योगदान गरेबापत उनलाई सम्मान गरिएको हो ।
नगरपालिकाको उप-प्रमुख शिवकुमारी थारुले हरेक नागरिकले सरकारी सम्पत्ति संरक्षण गर्नुका साथै आफ्नो वरिपरि सरसफाइ गर्नुपर्नेमा जोड दिँदै यसले नगरलाई सफा र सुन्दर बनाउन मद्दत पुग्ने बताउनु भयो ।
नगरप्रमुख थापाले नगरपालिकाले निर्माण गरेका संरचनाहरूको संरक्षण गर्ने नागरिकहरूलाई सम्मान गर्न कुनै कञ्जुस्याईं नगर्ने बताउनु भयो । वहाँले नगरको हरेक सकारात्मक अभियानमा सहयोग पुर्याउने व्यक्तिहरूलाई प्रोत्साहन गर्दै सम्मान गरिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । सम्मान पत्र ग्रहण गर्दे हलुवाईले नगरले गरेको सम्मान प्रति आफु निकै नै खुसि भएको र सरसफाइ कार्यलाई निरन्तरता दिने बताउनु भयो ।