दिपक खड्का

इलाका प्रशासन कार्यालय चन्द्रौटाको आयोजनामा पालिका स्तरीय नागरिक सचेतना कार्यक्रम इलाका प्रशासनको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्य नागरिकता सम्बन्धि मौजुदा कानुन, यसको महत्व, र नागरिकका अधिकार तथा कर्तव्यबारे जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा नागरिकता र नागरिक,नागरिकता किन चाहिन्छ?,नेपालमा नागरिकताको अभ्यास,जारी नागरिकताको प्रकार, र नागरिकता सम्बन्धि मौजुदा कानुनको व्यवस्था जस्ता विषयमा विस्तृत जानकारी गराइएको थियो ।

कार्यक्रममा शिवराज नगरपालिकाका सबै वडाका वडा अध्यक्ष, वडा सचिव, र शिवराज नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुखको उपस्थिति थियो।

इलाका प्रशासन कार्यालय चन्द्रौटाको तथ्यांकअनुसार विक्रम संवत २०८० सालमा नयाँ नागरिकता प्राप्त गर्ने व्यक्तिहरूको संख्या शिवराज नगरपालिकामा १,७८२ जना, कृष्णनगर नगरपालिकामा १,४५५ जना, र विजयनगर गाउँपालिकामा १,०३५ जना रहेको तथ्यांक सार्वजनिक गरियो।

कार्यक्रममा नगर प्रमुख अजय थापाले इलाका प्रशासन कार्यालयमा सेवा प्रवाह कक्ष, निवेदनको ढाँचा, र सेवाग्राहीका समस्याबारे जानकारी गराउन सुझाव दिनुभयो। उहाँले नागरिकलाई सुविधा उपलब्ध गराउन सेवा प्रक्रियामा सुधारको आवश्यकता रहेकोमा जोड दिनुभयो।

शिवराज नगरपालिका उपप्रमुख शिव कुमारी थारुले वडा कार्यालयहरूबाट प्रदान गरिने सेवामा पारदर्शिता र स्वार्थरहित सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले वडाध्यक्षहरूले कानुन र व्यवस्थाको गहिरो जानकारी राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमका अध्यक्ष घनश्याम न्यौपानेले वडाबाट सेवा लिन आउने सेवाग्राहीको सम्पूर्ण कागजात तयार गरी पठाउनुपर्ने र इलाका प्रशासन कार्यालयले जनगुनासोलाई सम्बोधन गर्दै समयमै सुधारका उपायहरू अपनाउनुपर्ने कुरा बताउनुभयो ।

उहाँले नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न समन्वयको महत्वमाथि प्रकाश पार्नुभयो।

कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख घनश्याम  न्यौपानेको अध्यक्षता, शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाको प्रमुख आतिथ्यता, शिवराज नगरपालिका उपप्रमुख शिव कुमारी थारु र वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सुजन शाहीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन प्रेम खवासले गर्नुभएको थियो।