नेपाल आदर्श माध्यमिक विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि मनाइने
दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिका वडा नं. १ मा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयले आफ्नो स्थापना भएको ५० औं वर्षको उपलक्ष्यमा स्वर्ण महोत्सव मनाउने सम्पूर्ण तयारी गरेको छ।
विद्यालयले यही माघ १५ गतेदेखि १७ गतेसम्म विविध कार्यक्रम आयोजना गर्ने गरी स्वर्ण महोत्सवको तयारी पूरा गरेको र विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकसँगै सम्पूर्ण सरोकारवालाहरूलाई पत्राचार र विभिन्न माध्यमबाट निमन्त्रणा पठाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमान के.सीले जानकारी दिनुभयो ।
स्वर्ण महोत्सवको पहिलो दिन “स्वर्ण महोत्सव समारोह” को शुभारम्भ, “स्वर्ण स्तम्भ” अनावरण तथा स्मारिका विमोचन गरिने र दोस्रो दिन “स्वर्ण महोत्सव सहयोगदाता सम्मान”, जग्गादाता सम्मान, र पूर्व विद्यालय व्यवस्थापन समिति तथा शिक्षक-अभिभावक समितिका पदाधिकारीहरूलाई सम्मान गरिने र तेस्रो दिन भने पूर्व शिक्षक तथा कर्मचारी सम्मान, पूर्व विद्यार्थी सम्मान, कार्यरत शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन तथा पुरस्कार वितरण गर्ने कार्यक्रम समावेश गरिएको विद्यालयका प्राचार्य मुक्तिनाथ पोख्रेलले जानकारी दिनुभयो ।
विद्यालयका प्राचार्य पोख्रेलले स्वर्ण महोत्सवका साथसाथै ५० औं वार्षिकोत्सव र २३ औं अभिभावक दिवस पनि मनाइने र कार्यक्रममा वर्तमान तथा पूर्व विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र स्थानीय समुदायको सहभागिताको समेत अपेक्षा गरिएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























