कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, १ गम्भीर घाइते
कपुरी डेक्स ।
कपिलवस्तु–जीतपुर सडक खण्डमा बुधबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घटना कपिलवस्तुको बाणगंगा नगरपालिका-११, देउवापारमा साँझ करिब ५:३० बजे भएको हो।
प्रहरीका अनुसार, ठोक्किने मोटरसाइकलमध्ये एक भारतीय नम्बर प्लेटको यूपी ५५ ए एच ७०९० थियो भने अर्को नेपाली नम्बर प्लेटको लु १० प ४४९६ थियो। दुर्घटनामा मृत्यु हुनेमा कपिलवस्तु शुद्धोधन गाउँपालिका- निवासी ३५ वर्षीय नेहामन अली र सैनामैना-४ निवासी २७ वर्षीय रोमन थारु रहेका छन्।
उनीहरू दुबैको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए। त्यसैगरी, दुर्घटनामा २६ वर्षीय अजय थारु गम्भीर घाइते भएका छन्। उनको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा भइरहेको छ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी राखेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गति र लापरवाहीका कारण दुर्घटना भएको आशंका गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























