कपुरी डेक्स ।

कपिलवस्तु जिल्लाको पश्चिममा रहेको
विजयनगर गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको यो अधिवेशनमा अर्धवार्षिक प्रगति र आगामी कार्यक्रमहरूको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अर्धवार्षिक प्रगतिसहितको पूरक बजेट र कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाको वित्तीय स्थिति र आगामी विकास योजनाबारे जानकारी दिएकी थिइन् ।
चौधरीले संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानको आकारमा वृद्धि भएको र यसले गाउँपालिकाको विकासमा सकारात्मक प्रभाव परेको बताउनु भयो ।
गाउँसभा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरले समग्र विकास कार्यमा जनप्रतिनिधिहरूको सक्रियता बढनु पर्ने बताउदै बस्ती स्तरको योजना निर्माणमा चासोको महत्त्वमा जोड दिन सुझाव दिनु भयो ।
उहाँले जनताका हरेक समस्यालाई नजिकबाट नियालेर समाधान गर्नका लागि जन-प्रतिनिधिहरू सक्रियता आवश्यकता रहेको बताउनु भयो ।

अध्यक्ष थापाले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन स्वास्थ्य बीमा बोर्डसँग ५० प्रतिशत अनुदानमा सम्झौता गरिएको र यसलाई प्रभावकारी बनाउन घरदैलो अभियान सञ्चालन गरिने बताउनु भयो । उहाँले विजयनगरका नागरिकहरूलाई गाउँ ब्लक लालपुर्जा प्राप्तीका लागि पालिका लागिपरेको बताउनु भयो ।

गाउँपालिकाका उपाध्यक्ष चौधरीले संघीय र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान तथा विशेष अनुदानको आकारमा वृद्धि भएको जानकारी दिँदै गैर सरकारी संस्थाहरू संगको सहकार्यबाट स्रोत साधनको उपलब्धता बढेको बताउनु भयो ।
उहाँले गाउँपालिकाको समृद्धि हासिल गर्न स्थानीय कृषि भूमि, वनजन्य उत्पादन, र नदिजन्य पदार्थको उपयोग गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले प्रशासनिक कार्यहरू पारदर्शी र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्। उहाँले कर्मचारीहरूलाई कार्यसम्पादन सुधार गर्न र सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्नको लागि सचेत गराएको बताउनु भयो ।
गाउँपालिकाको समग्र विकास र समृद्धिको वाटोमा सबैको सामूहिक प्रयासले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।