कपुरी डेक्स ।

शिवराज नगरपालिका–१ उमरीमा माघ १ गतेदेखि ३ गतेसम्म आयोजना हुने माघी (खिचडी) महोत्सव २६४८ को तयारीबारे पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

महोत्सवको मुख्य आकर्षणमा थारु समुदायको सांस्कृतिक विविधता झल्काउने झाँकीहरू संगै २ सयभन्दा बढी कलाकारद्वारा एकसाथ प्रदर्शन गरिने र थारु लाठी नृत्य, र राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा प्रस्तुत गरिने थारु गीत तथा नृत्य रहने आयोजकले जानकारी दिएको छ ।

थारु कल्याणकारी सभा शिवराज नगर समितिका अध्यक्ष तथा महोत्सव संयोजक प्रकाश चौधरीले महोत्सवले थारु संस्कृतिको जर्गेना र प्रचार–प्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । महोत्सवमा सांस्कृतिक कार्यक्रमहरूका अतिरिक्त स्थानीय उत्पादनहरूको प्रदर्शनी, परम्परागत खेलकुद, र थारु परिकारहरूको विशेष स्टलसमेत राखिने चौधरीले बताउनु भयो ।

महोत्सवको पहिलो दिन विशेष उद्घाटन समारोह आयोजना हुने र  स्थानीय तहका प्रमुख, प्रदेश तथा संघीय सरकारका प्रतिनिधिहरूको उपस्थिति संगै   थारु समुदायका अगुवाहरूको उपस्थितिमा परम्परागत थारु पहिरन तथा रीतिरिवाज अनुसार कार्यक्रमको शुभारम्भ गरि थारु संस्कृतिका झाँकी थारुहरुको जीवनशैली, परम्परा, र सांस्कृतिक झल्किने तयारी रहेको छ ।

दोस्रो दिन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति प्रमुख आकर्षणको केन्द्र बिन्दु  हुनेछ। उक्त दिन  दर्शकहरूले थारु भाषाका लोकप्रिय गीतहरू र नृत्यहरूको साथमा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूमा सहभागी हुने अवसर मिलाइएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए ।

आयोजकले माघी महोत्सवले थारु समुदायको मौलिकता संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा राखेको छ । महोत्सवमा सहभागीहरूले थारु परिकारहरूको स्वाद लिन र स्थानीय उत्पादनहरूको प्रदर्शनीमार्फत थारु समुदायको आर्थिक विकासमा सहयोग पुग्ने आयोकले जानकारी दिएको थियो ।

पत्रकार सम्मेलनमा महोत्सव व्यवस्थापन, सुरक्षाका उपायहरू, र उपस्थित दर्शकहरूको सहजताका लागि गरिएका तयारीहरूबारे पनि जानकारी गराएको थियो ।

थारु समुदायको विशेष पर्व माघी (खिचडी) नयाँ वर्षको सुरुवातका रूपमा मनाइने महत्त्वपूर्ण चाड मध्य एक  हो । माघी पर्वमा थारु समुदायले नयाँ योजना बनाउने, पुराना समस्या समाधान गर्ने, र सामूहिक उत्सव मनाउने परम्परा रहेको छ ।