रहतावल सामुदायिक वनको सामाजिक उत्तरदायित्व

कमल बिष्ट, कपिलवस्तु,पौष २८
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ र ५ स्थित रहतावल सामुदायिक वनले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न समूहका व्यक्तिहरूलाई सामग्री वितरण गरेको छ।
सामुदायिक वनले ८० वर्षमाथिका ३० जना अति वृद्धवृद्धालाई न्यानो फाइबर सिरक र आधुनिक लठ्ठी, २२ जना नव-सुत्केरीलाई लोकल भाले र च्यवनप्राश, २ वटा स्थानीय युवा क्लबलाई खेल सामग्री, ६ जना अपाङ्गता भएका नागरिकलाई फाइबर सिरक तथा वडा प्रहरी कार्यालय चन्द्रौटाका लागि १५ थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसीले सामुदायिक वनले वन संरक्षण र सम्वर्द्धनलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले वनको आम्दानीबाट विपन्न नागरिकहरूको उत्पादनसँग जोडिने कार्यक्रम सिर्जना गरी समुदायमा नियमित आम्दानीको श्रोत विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। यस प्रकारका कार्यक्रमहरूले वनको आम्दानी नागरिकको घरदैलोमा पुर्याउँदा नागरिकमा वनप्रतिको अपनत्व भावना जागृत हुने उहाँको भनाइ रहेको थियो।
रहतावल सामुदायिक वनका अध्यक्ष यज्ञ बेल्वासेले सामुदायिक वनहरूले आफ्नो आम्दानीबाट राज्यलाई कर तिर्नुका साथै समाजमा पनि लगानी गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पुर्खाले जोगाएको वन सम्पदालाई संरक्षण गर्दै यसबाट प्राप्त आम्दानीलाई समाज कल्याणका लागि उपयोग गर्न प्रतिबद्ध रहेको बताउनु भयो।
डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख राजु क्षेत्रीले घाटगद्दीमा दाउरा र काठ पर्याप्त उपलब्ध रहेको जानकारी दिँदै, आवश्यक नागरिकले राजस्व शुल्क तिरेपछि सहजै काठ प्राप्त गर्न सक्ने बताउनुभयो।
सामुदायिक वनले खेल सामग्री वितरणमार्फत युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न र प्रहरीलाई फ्लोरोसेन्ट ज्याकेट उपलब्ध गराई उनीहरूको सुरक्षालाई बलियो बनाउन योगदान गरेको छ। त्यस्तै, नवसुत्केरीहरूलाई लोकल भाले र पोषिलो आहार सामग्री वितरणले मातृत्व स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा शिवराज नगरपालिका–३ का वडा अध्यक्ष टेकलाल सापकोटा, शिवराज साझेदारी सामुदायिक वनका अध्यक्ष हरिप्रसाद पोख्रेल, सव डिभिजन वन कार्यालयका वन अधिकृत पहलमान मगर, कपिलवस्तु वन उपभोक्ता समूहका अध्यक्ष गङ्गेशनाथ तिवारीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर










