कपुरी डेक्स

शिवराज नगरपालिका वडा नम्बर ५ मा यस आर्थिक वर्ष ०८१/०८२ को विकास र भौतिक पूर्वाधार निर्माण कार्यहरू तीव्र गतिमा अघि बढिरहेको छ। वडाले ४०२ मिटर नाली र ३४७ मिटर पिसिसी सडक निर्माण कार्य सम्पन्न गरेको शिवराज नगरपालिकाका इन्जिनियर रामजी नेपाली थापाले जानकारी दिनुभयो।

वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले वडाले हालसम्म विभिन्न शिर्षकमा छुटेका कामहरू सम्पन्न गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार, वडाले सम्पन्न गरेका र सम्पन्न हुने क्रममा रहेका प्रमुख कार्यहरूमा: नौडिहबा प्रदीप घरदेखि दक्षिणतर्फको नाली निर्माण,कटनिया केदार न्यौपानीको घरदेखि पूर्व दक्षिणतर्फको अधुरो सडकमा पिसिसी कोटिंग,कृष्णनगर जाने बाटोको पश्चिमी भागमा सिला पाण्डेको घरसम्मको पिसिसी सडक। वडा कार्यालयको पूर्वमा नाली निर्माण,कणेश्वरी मन्दिरको पूर्वबाटोमा पिसिसी निर्माणका कामहरु सम्पन्न हुने क्रममा रहेको बताउनु भयो ।

शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले वडा नम्बर ५ ले भौतिक पूर्वाधार र विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको र करिब ५५ प्रतिशत काम सम्पन्न भइसकेको बताउदै कामको  प्रगतिले स्थानीयहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।