कपिलवस्तु, २७ असार ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले कपिलवस्तु सीमा क्षेत्र नजिकै रहेको ईलाका प्रशासन कार्यालय चन्द्रौटाले शान्ती सुरक्षामा जोडदिनु पर्ने बताउनुभएको छ । कपिलवस्तुको चन्द्रौटामा रहेको ईलाका प्रशासन कार्यालयको भवन उद्धघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

शान्ती सुरक्षामा थप ध्यान दिँदै नागरिकहरुलाई सुरक्षाको प्रत्याभूती गराउनुपर्ने सचिव अर्यालले बताउनुभयो । चन्द्रौटाबाट अब छिट्टै राहदानको काम हुने अर्यालले प्रतिबद्धता जनाउँदै प्रशासन कार्यालय भवन निर्माणको लागि जग्गा दिन दिएकाहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । भवन निर्माण गरेर मात्र नहुने बताउँदै सेवालाई प्रभावकारी तवरबाट प्रदान गर्नुपर्ने अर्यालले बताउनुभयो ।

शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले ईलाका प्रशासन कार्यालयबाट प्रभावकारी रुपमा सेवा प्रवाह गरेकोमा धन्यवाद दिनुभयो । नागरिकका हरेक कामसँग जोडिएकोले कर्मचारीहरुले सहज रुपमा सेवा दिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा पूर्व नगर प्रमुख नेत्रराज अधिकारी, समाजसेवी हरी पोख्रेलले ईलाका मार्फत प्रवाह हुने सेवालाई थप गरिनुपर्ने बताउनुभयो ।

भवन ५ करोड २४ लाख ३५ हजार लागतको निर्माण भएको उक्त भवन बुधवार गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले उद्धघाटन गर्नुभएको छ । ३ तले भवनमा २६ वटा कोठा रहेका छन् । स्थानीय राम विलास कुर्मी र रुद्रनारायण कुर्मीले सहयोग गरेको ६ कट्टा १७ धुर जग्गामा भवन निर्माण भएको हो । जग्गादाता दुबै जना कुर्मीलाइ सम्मान पत्र सहित सम्मान गरिएको छ ।