आर.ए.अन्जान
कपिलवस्तु, २९ जेठ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाकी उपप्रमुख रीता कुमारी थारुले कपिलवस्तु छुट्टै पहिचन बोकेको जिल्ला रहेको बताउनु भएको छ । हरेक समुदाय मिलेर बसेको साझा फूलबारी रहेको बताउँदै थारु समुदायसँगै अन्य समुदायका जातजाति, भाषाभाषी, धर्म, लिंगका आम नागरिकलाई पनि फूल झै फुलाउन मलजल गर्न आवश्यक रहेको बताउनुभयो । जिल्लाको गोरुसिंगेमा आयोजित मनरा (मादल) बजाउने १० दिवसीय तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
थारु समुदायको अस्तित्व लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । वैदेशिक पलायन भैरहेको बेला सीपमूलक तालिमक प्रदान गरी स्वादेशमै रोजगारीको वातावरण खोज्न उहाँले आग्रह गर्नुभयो । आम्दानीसँग जोड्दै लोप हुँदै गएको संस्कृति जोगाउनुका साथै सीप सिक्दै मनरा (मादल) बजाउने तालिममा सिकेका सीपलाई व्यवहारमा उर्तानुपर्नेमा उहाँले जोडदिनुभयो । आगामी योजनामा थारु लक्षित कार्यक्रम ल्याउने समेत उप प्रमुखको दावी छ ।
थारु कल्याणकारीणी सभा कपिलवस्तुका सभापति पवन कुमार थारुले यस क्षेत्रमै पछाडी परेको समुदायलाई प्रोत्सहन गर्न कार्य सराहनीय रहेको बताउनुभयो । थारुले भन्नुभयो ः ‘सीप सिकेपछि थारु जातिले पुजाआजा, विवाह, वर्तवन्ध लगायतमा सहजता प्रदान हुनेछ । झुमरा, झररा लगायतको नाचमा जनशक्तिको अभाव पनि हुँदैन ।’ सिंगो थारुको समुदायको हितमा रहेको संस्कृति उठाउन सरकारले सकरात्मक भूमिका खेलेको उहाँले जिकिर गर्नुभयो ।
लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजनमा भएको थारु जातिका बरघरको सीप र ज्ञान पहिचान गरी क्षमता विकास गर्न कला, संस्कृतिसँग सम्बन्धित वस्तु उत्पादन तथा बजारीकरण गर्न अन्र्तगत मनरा बजाउने तालिमको आयोजना गरिएको पर्यटन डिभिजन कार्यालयले जनाएको छ ।
तालिममा कपिलवस्तुका शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिका र विजयनगर गाउँपालिकाका १६ जना थारु अगुवाहरु सहभागी रहेको थियो । कार्यालयका वरिष्ठ शाखा अधिकृत श्यामलाल न्यौपानेले आगामी दिनमा समुदाय लक्षित प्रभावकारी कार्यक्रमसहित प्रत्यक्ष रोजगारीसँग जोड्दै कला, संस्कृति लगायतको पहिचान झल्किने योजना अघि सारेको जनाउनुभयो ।