कपिलवस्तु, १५ फागुन ।
कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष गंगेशनाथ तिवारीले दीर्घकालीन रुपमा वनकाे विकास गर्ने आफूसँग याेजना रहेकाे बताएका छन् । विगतका कार्यकालबाट अनुभव बटुली फागुन १६ गते हुने अधिवेशनमा वन हरेक प्राणीसँग सम्बन्ध रहेकाेले दीर्घकालीन रुपमा विकास याेजनाका साथ पुन: उम्मेदवारी दिएकाे बताएका हुन् ।
साझेदारी वनका संस्थापक अध्यक्ष समेत रहेका तिवारीले अघिल्लो कार्यकालमा गरेका उत्कृष्ट कामलाई निरन्तरता दिने समेत बताए । आउने वर्षमा जनतालाई प्रत्यक्ष फाइदा हुने खालका कार्यक्रम लागु गर्ने विशेष याेजना रहेकाे जनाए ।
वन व्यवस्थापन सँगै स्थानीय जनतालाई सहुलियत दरमा काठ उपलब्ध गराउने उनकाे भनाई छ । ‘बजारमा ५ देखि ६ हजार प्रति क्यु फिटमा ए ग्रेडको सालको चिरान पाइन्छ । उनका अनुसार आधा भन्दा कम मूल्य पर्ने गरी वितरण गर्ने योजना रहेको छ । पछिल्लो कार्यकालको समीक्षा गर्दै पुन: अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकाे दावी छ ।
पछिल्लो कार्यकालमा १६५ हेक्टर क्षेत्रफलमा अतिक्रमण हटाएको २ सय हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरेको, प्रत्येक वर्ष १ लाख बिरुवा नर्सरीमा उत्पादन गरेको जिकिर गरे । साझेदारी वनको शिवराज नगरपालिका ३ छाला फ्याक्ट्रीमा प्रशासकीय भवन समेत निर्माण सम्पन्न भएकाे उनले बताए । साझेदारी वनले विद्यालयमा डस्टविन, समुदायमा प्रतिक्षालय, सिँचाई योजना निर्माणमासमेत सहयोग पुर्याएको छ ।
सत्र हजार बढी उपभोक्ता रहेको वन २०६७ सालमा स्थापना भएको थियो । २०६९ सालमा कार्य योजना स्वीकृत भई काम सुरु भएको थियो । कपिलवस्तु र अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं. ११ गरी ५ स्थानीय तहका २२ वडा समेटिएका छन् । वन क्षेत्र ५ हजार ८७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । अतिक्रमण हटाउन उत्कृष्ट काम गरेको भन्दै नेपाल सरकारबाट सम्मानित समेत भएको थियो ।