कपिलवस्तु, १० फागुन ।
राष्ट्रिय जनमोर्चा पार्टी कपिलवस्तुले काठ दाउराको चोरी निकासी नियन्त्रण गर्न ध्यानकर्षण पत्र बुझाएको छ । चन्द्रौटास्थित डिभिजन वन कार्यालय (गौतमबुद्ध) र सव-डिभिजन वन कार्यलय खरेन्द्रपुरलाई जनमोर्चाले बिहीबार एक कार्यक्रमका बीच चोरी निकासी नियन्त्रण गर्न पत्र बुझाएको पार्टीको जिल्ला समितिले जनाएको छ ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सचिव केरसिंह अदैको नेतृत्वमा गएको टोलीलेले वडाको देउराली, सुंगुरबुुरुवा क्षेत्रबाट रातको समयमा काठ तस्करहरुले गुल्लि, काँचो काठ, दाउरा निकासी भैरहेको भन्दै अनुगमन गरी नियन्त्रणमा लिएको बताए । नर्सरीमा लगाइयको बिरुवा समेत काटिएको, दुइमुनिया, गोबरैया जंगल उजाड बन्दै गएको शनिबारमात्र जंगल खुल्ला गरिए पनि रातको समयमा बढी चोरी निकासी हुने गरेको सम्बन्धित निकायको ध्यान नगएको बताउँदै यस्ता काम तुरुन्त रोक्न र कडा व्यवस्था गर्न सम्बन्धित निकायलाई ध्यान आकर्षण गरिएको उनको भनाइ छ ।
सब डिभिजन वन कार्यालय खरेन्द्रपुरका अधिकृत सञ्जय कुमार मिश्राले कमजोरी स्वीकार गर्दै सबैले साथ दिनुपर्ने बताए । राष्ट्रिय जनमोर्चाले चन्द्रौटामा रहेको डिभिजन वन कार्यालय गौतम बुद्धमा पनि आजै चोरी निकासी रोक्न ध्यान आकर्षण गराएको छ । व्यापक जंगल फडानी भएपछि र जनताको धेरै गुनासो आएपछि राष्ट्रिय जनमोर्चाले वन कार्यालयमा ध्यान आकर्षण पत्र बुझाइएको जनाइएको छ । टोलीमा राष्ट्रिय जनमोर्चा शिवराज समिति सचिव श्याम प्रकाश खनाल, राजमो जिल्ला सदस्य राम बहादुर चमार, राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति सदस्य रामदेव कुर्मी, श्याम मोहन केवट, झक बहादुर विक, छन्द बहादुर केसी, राजमो शिवराज ३ का वडा सदस्य भीम सरा अदैको समेत सहभागिता रहेको थियो ।