कपिलवस्तु, चन्द्राैटा । कपिलवस्तुकाे शिवराज नगरपालिकाले क्रिकेट खेलाडी दिपक खड्कालाई सम्मान गरेकाे छ । शिवराज नगर प्रमुख अजय थापाले फूलमाला र खादा ओढाएर खड्कालाई सम्मान गरेका हुन् । यस्तै नगर उप-प्रमुख शिव कुमारी थारुले पनि खड्कालाई नगरपालिकामा सम्मान गरेकी छन् ।
भारतको आगरामा सम्पन्न भएको शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच टी- ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेर गृह नगर फर्किएपछि खड्कालाई सम्मान गरिएकाे छ । खड्का नगरपालिकामा कार्यरत एक कुशल कर्मचारी पनि हुन् ।
नगर प्रमुख अजय थापाले सबैका लागि खेलकुद राष्ट्रिय संगठनको नेतृत्वमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुबीच भएको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालको तर्फबाट सहभागी भई उत्कृष्ट प्रदर्शन गरेकाे भन्दै दिपक खड्कालाई नगरपालिकाले सम्मान र स्वागत गरेकाे बताए ।
यस्तै नगर उप-प्रमुख शिव कुमारी थारुले यस खेलले अपाङ्गता भएका व्यक्तिहरुकाे मनाेबल बढाउनुकाे साथै खेलप्रति प्राेत्साहित गर्न टेवा पुगेकाे भन्दै सबैेकाे चाँसाेकाे विषय बनेकाे बताइन् ।
खड्काले नेपाल र भारतबीचको पहिलो टेस्टमा पनि डेब्यु गर्दै उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण ४ विकेट लिएका थिए । खड्का जिल्लाकाे शिवराज नगरपालिकाकाे वडा नम्बर २ बालापुरका निवासी हुन् ।