आर.ए. अन्जान

कपिलवस्तु, २९ मंसिर ।

 

लागू औषध दुर्व्यसन राेकथाम तथा सचेतनामूलक कार्यक्रम सम्बन्धि अभिमुखिकरण गाेष्ठी कार्यक्रम गरिएको छ । जिल्लाकाे शिवराज नगरपालिका वडा नम्बर-३, भितरियामा शुक्रबार गाेष्ठी गरिएको हाे ।

शिवराज नगरपालिकाका मेयर अजय थापाले आ-आफ्न बालबालिकालाई लागू पदार्थ दुर्व्यसनकाे कुलतबाट बचाउन आग्रह गरे । उनले आनीबानी पहिचान गरि सुरक्षित राख्न जरुरी रहेकाे बताउँदै शैक्षिक स्तरमा जाेड दिनुपर्ने बताए ।

यसैबीच शिवराज नगरपालिकाका कानुनी सल्लाहकार तथा प्रशिक्षक अधिवक्ता शम्भु सेनले पछिल्लो समय लागुपदार्थकाे दुर्वयसन, राेजगारी तथा प्रेम गरेकाे देखावटी सम्बन्धले युवा पुस्ता मानव ओसारपसारकाे दलदलमा फस्दै गएकाे बताए । उनले यसलाई नियन्त्रण गर्न सबैले हातेमालो गर्न जरुरी रहेकाे बताउँदै अभिभावकले आफ्नाे सन्तानको निगरानी गर्न भुमिका खेल्नुपर्ने जिकिर गरे ।

यसैबीच वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रहरी निरीक्षक तथा प्रशिक्षक गीता प्रसाद चाैधरीले कानुनी प्रावधानबारे प्रष्टाउँदै अपराधीक गतिविधिबाट सावधानी अपनाउनुपर्ने बताए । भेटघाट, बर्थडे पार्टी लगायत अन्य क्रियाकलापकाे नाममा रातीराती अनावश्यक गतिविधि नगर्ने चाैधरीले बताए ।

वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले लागूपदार्थ न्यूनीकरण गर्न आफूबाटै सुरुवात गरी प्रतिबद्धता जनाउन जरुरी रहेकाे बताए । समाज रुपान्तरण गर्न हरेक क्षेत्रबाट हातेमालो गर्नुपर्ने बताउँदै मदिरा बिक्री वितरण गर्ने समय निर्धारण गर्नुपर्नेमा उनले जाेडदिए । त्यसैगरी वडा सचिव रामफल चाैधरी, शिव पराजुली लगायतले गाेष्ठीलाई सम्बाेधन समेत गरेका थिए ।