घनश्याम भर
(विजयनगर) कपिलवस्तु, २२ मंसिर ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले सामाजिक विकासको काममा फरक ढंगले अगाडी बढ्ने भएको छ । गाउँपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्ण सरसफाई लगायत जनचेतनामुलक कार्यक्रमलाई उपलब्धिमूलक बनाउने याेजना अनुसार लाग्ने प्रयत्नमा जुटिरहेको छ ।


सामाजिक विकासकाे आमूल परिवर्तनका लागि ७ बुँदे ‘सभ्य परिवार ‘ परिचय-पत्र लागू गर्दै अभियान चलाउने याेजना रहेकाे गाउँपालिकाले जनाएको छ ।

विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले पूर्ण सरसफाई युक्त, चर्पीकाे प्रयाेग, बाल बिबाहकाे अन्त्य, बालश्रमकाे अन्त्य, शुद्ध खानेपानीकाे प्रयोग, विद्यालयमा विद्यार्थीकाे नियमितता र स्वास्थ्य सेवाकाे प्रभावकारीतालाई नागरिकसम्म पुर्‍याउनका लागि गाउँपालिकाले ७ बुँदे ‘सभ्य परिवार’ अभियानमा जाेड दिइरहेकाे बताए । उनले सामाजिक विकास नभएसम्म सभ्य, नागरिक, परिवार, समाज र देश नै सभ्य निर्माण हुन नसक्ने बताए ।

समाजमा परिवर्तन ल्याउनका लागि सबै भन्दा पहिले सभ्य नागरिककाे परिचय दिन जरुरी रहेकाे बताउँदै गाउँपालिकाकाे कार्ययोजना अनुरुप यस अभियानमा अगाडी बढ्ने अध्यक्ष थापाकाे भनाई छ । उनले ‘सभ्य परिवार’ अभियानका बुँदाहरु पूर्णरूपमा पालना गरे पालिकाले ‘सभ्य परिवार’ परिचय-पत्र प्रदान गरिने बताए । उनले यस विजयनगरकाे अभियानमा गैरसरकारी संघसंस्था, सम्बन्धित निकाय र सराेकारवालालाई आ-आफ्नो ठाउँबाट हातेमालो गर्न आग्रह समेत गरे ।

यी हुन् सभ्य परिवारकाे परिचय दिने ७ बुँदा !

१. मेराे घरपरिवारमा नियमित चर्पी प्रयाेग भएको छ ।
२. मेराे घरपरिवार पूर्ण सरसफाई प्रति प्रतिबद्ध छ । (जस्तै जताततै दिसा/पिसाब, घर पालुवा जनावर बाटाेमा बाँध्ने, जथाभावी फाेहाेर फाल्ने, सवारी साधन बाटाेमा राख्ने, सडक नाली अवराेध आदि) ।
३. मेराे घरका विद्यालय जाने उमेर समुहका सम्पूर्ण बालबालिका विद्यालय गएका छन् ।
४. मेराे घरमा गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच, तथा मान्यता प्राप्त स्वास्थ्य संस्थामा सुत्केरी गराउने र बालबालिकाले नियमित खाेप लगाउने छन् ।
५. मेराे घरपरिवारमा बाल बिबाह तथा बालश्रम हुने छैन ।
६. मेराे घरपरिवारले महिनामा कम्तिमा १ पटक श्रमदान गर्नेछ ।
७. न्यायिक समितिबाट मिलापत्र वा निर्णय भए बमोजिम कार्यान्वयन गर्ने छाैँ ।

यसरी विजयनगर गाउँपालिकाले सामाजिक विकास र गाउँपालिकाकाे परिवर्तनका लागि लागेकाे छ । समृद्ध र समुन्नत विजयनगरकाे लागि गाउँपालिका शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरि गैरसरकारी संघसंस्था, सम्बन्धित निकाय र सराेकारवालासँग अन्तरक्रिया तथा छलफल गरि आवश्यक सल्लाह सुझाव समेत संकलन गरेकाे छ ।

गाउँपालिकामा सञ्चालित गैरसरकारी संघसंस्थाहरुलाई सामाजिक विकासका कार्यक्रम विशेष जाेड दिन पालिकाले आग्रह समेत गरेकाे छ । गाउँपालिकाले ‘सभ्य परिवार’ परिचय-पत्र लागू गर्ने विषयमा व्यापक छलफल र परिचयपत्र जारी भएपछि ७ बुँदे न्यूनतम आधारभूत कुरा पालन गर्नैपर्ने शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले जानकारी दिए ।