काठमाण्डाै, २८ कार्तिक । वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । ललितपुरको बल्खुमा रहेको बयोधा अस्पतालमा उपचारका क्रममा आज मङ्गलवार मानन्धरको निधन भएको साहित्यकार प्राध्यापक जगत् उपाध्यायले बताउनुभयो ।
स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो । साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवम् प्रकाशन गर्नुभएको थियो ।
छ दशकभन्दा लोमो समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गर्नुभएका उहाँले राणा शासनदेखि नै बालखुराक पस्कँदै आउनुभएको थियाे । साहित्यकार मानन्धरको अन्त्येष्टि भोलि बुधवार गरिनेछ ।