सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई महानगरले ३० हजार रुपैयाँ जरिबाना तिरायाे
पर्सा, २२ कार्तिक । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई ३० हजार रुपैयाँ जरिबाना गरेको छ ।
प्रदूषित पानी सिर्सिया नदीमा फालेर फोहरसमेत गरेको भन्दै परवानीपुरमा रहेकाे सिद्धि टेक्साइल प्रालिलाई ३० हजार रुपैयाँ जरिबाना गरेकाे महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले जानकारी दिनुभयो ।
यसअघि सिर्सिया नदी प्रदूषणमा मुख्य जिम्मेवार देखिएको भन्दै महानगरपालिकाले पाँच वटा उद्योगलाई पटक पटक चेतावनी दिँदा पनि प्रदूषण गर्न नछाडेकाले तीन लाख रुपैयाँका दरले जरिबाना गरेको थियो ।
उद्योगबाट निस्कने रसायनसहितको लेदो तथा फोहर पानी सोझै नदीमा मिसाउँदा नदी दुर्गन्धित र प्रदूषित भएको थियो । महानगरको निरन्तर अनुगमनपछि ग्लोबल लेदर, मारुती पल्स एन्ड पेपर, दुर्गा पल्स एन्ड पेपर र सिद्धी टेक्सटायल्सले भने अझै अटेर गरेको भेटिएको महानगरद्वारा गठित सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।
यसैबीच पर्सा–बारा काेरिडोरका दुई वटा उद्योगले ‘ट्रिटमेन्ट प्लान्ट’ बनाउन शुरु गरेका छन् । महानगरपालिकाले निरन्तर अनुगमन र कारबाही गर्न थालेपछि प्रदूषण नियन्त्रणका लागि निस्कने रसायनयुक्त लेदो तथा फोहर व्यवस्थापन गर्न उद्योगीले ‘ट्रिटमेन्ट प्लान्ट’ बनाउन शुरु गरेका हुन् । मरियम लेदर उद्योग र अरनिको टेक्सटायल्सले अत्याधुनिक ‘ट्रिटमेन्ट प्लान्ट’ बनाउने काम अघि बढाइसकेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । तस्बिर : सामाजिक सञ्जाल
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















