तनहुँ, २२ कार्तिक । भारतबाट आयात हुने फूललाई निरुत्साहित गर्दै तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकामा चालिस रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ । बन्दीपुर गाउँपालिका–५ को थुम्का,कल्चोकमा नेत्रप्रसाद लामिछाने,नारायण लामिछाने लगायतका २० जना बढी किसानले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका छन् । स्वदेशमै उत्पादित फूलको प्रवर्द्धन गर्न फूलखेती थालिएको हो ।

गएको चार वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको स्थानीय किसान तामप्रसाद भट्टले जानकारी दिनुभयो । अघिल्ला वर्षमा थोरै क्षेत्रफलमा फूल लगाए पनि यसवर्ष चार रोपनी क्षेत्रफलमा फूलखेती गरेको उहाँले बताउनुभयो । उत्पादित फूल जिल्लाभित्र र नारायणगढमा लगेर बिक्री गर्ने गरेको छु,उहाँले भन्नुभयो, ‘प्रतिमाला दुई सयदेखि तीन सय ५० रुपैयाँ सम्म बिक्री गर्ने गरेको छु ।’

यसवर्ष करिब डेढ÷दुई लाखसम्मको फूल बिक्री हुने अपेक्षा रहेको किसान भट्ट बताउनुहुन्छ । त्यसक्षेत्रका फूल उत्पादक किसानले सिजनमा एक लाख रुपैयाँ भन्दा बढीको फूल बिक्री गर्ने गरेका छन् । गाउँपालिकामा सयपत्री फूलखेती गरेसँगै तिहारको समयमा बाह्य देशबाट ल्याउनु नपरेको व्यवसायी बताउँछन् ।

भारतको तुलनामा नेपालमा फूल उत्पादनमा लागत बढी पर्ने भएकाले दशैँ तिहारका समयमा भारतबाट आउने फूलको मूल्यसँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको अर्का किसान नारायण लामिछानेले बताउनुभयो । बिरुवा लगाएको चार महिनाभित्र फूल उत्पादन हुन्छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि पछिल्ला समय व्यावसायिक किसानको यसतर्फ आकर्षण बढ्दै गएको पाइन्छ ।

त्यस वडालाई बाह्रै महिना फूल उत्पादन गर्ने क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । आगामी वर्षदेखि त्यस वडामा नर्सरी बनाएर गाउँपालिकाले हाइब्रीड फूलको बीउमा अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइने उहाँले बताउनुभयो ।

त्यस क्षेत्रमा गरिएको व्यावसायिक फूल खेतीको आफूले स्थलगत अवलोकन गरिसकेको अध्यक्ष थापाले बताउनुभयो । ‘फूलखेतीबाट आफू प्रभावित भएको बताउँदै अध्यक्ष थापाले आउँदो वर्ष समयमै गाउँपालिकाको सक्रियतामा किसानलाई प्रोत्साहन हुने किसिमले काम गर्ने सोच बनाएका छौँ, उहाँले भन्नुभयो । फाइल तस्बिर