काठमाण्डाै, १८ कार्तिक । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धारको काम तीव्र रुपमा भैरहेको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले रातिदेखि नै खोज तथा उद्धारको काम भैरहेको जानकारी दिनुभयो । अहिले घाइतेहरुलाई अस्पताल पठाउने र प्रभावित क्षेत्रमा प्रहरी तथा स्वास्थ्यकर्मी पठाउने काम पनि भैरहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार बाँके, सुर्खेतलगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि पनि तीनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको छ । सशस्त्र प्रहरी अस्पतालको मेडिकल टिमलाई जाजरकोटमा पठाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा सेनाको हेलिकप्टरका साथै आवश्यकताअनुसार निजी क्षेत्रको हेलिकप्टर पनि परिचालित भएका छन् ।
भूकम्पपछि राहत र उद्धारका लागि जुट्न एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरुले आह्वान गर्नुभएको छ ।