बर्दियामा हात्ती उपचार शिविर : नङ काटिने, जुकाको औषधि खुवाइने र खाेप लगाइने
बर्दिया, १७ कार्तिक । बिहीवार बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र ठाकुरद्धाराको हात्तीसार पुग्दा हात्तीलाई तयारी अवस्थामा राखिँदै थियो । चञ्चल छावा यताउता दौडिँदै रमाउँदै थियो । एकातिर हात्तीसारको मैदानमा रहेको टेबल औषधिले भरिएको देखिन्थ्यो । अर्कोतिर बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक, स्वास्थ्य प्राविधिक, विदेशी प्राविधिक र केही कर्मचारीहरु तयारी अवस्थामा थिए । 
केहीबेरमा घाँसको ठूलो भारी बोकेको हात्ती पनि आइपुग्यो । माउतेले घाँस झारे लगत्तै चिकित्सकले एउटा हात्तीलाई पल्टाउन आदेश दिएपछि माउतेले हात्तीलाई पल्टाइहाले । त्यसपछि शुरु भयो बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र हात्तीसार ठाकुरद्धारामा ‘हात्ती उपचार शिविर ।’
बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनमा भएको शिविरमा आउनुभएका चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डाक्टर विजयकुमार श्रेष्ठका अनुसार हात्तीलाई जुकाको औषधि खुवाउने, नङ काट्ने र विभिन्न खाेप लगाउनका लागि आजदेखि तीन दिने शिविर शुरु भएको हो । हात्ती स्वास्थ्य शिविरमा विषेश गरी हात्तीसारमा रहेका १३ वटा हात्तीको नङ काट्ने (फुट ट्रिमिङ), रगत जाँच गर्ने र जुकाको औषधि खुवाउने श्रेष्ठले बताउनुभयो । 
उहाँले यसपटकदेखि प्रत्येक हात्तीलाई रेबिज र टिटानस विरुद्धको खोप पनि दिइने बताउनुभयो । यस्तै, रगतको नमुना लिएर परीक्षण गर्ने, शरीरको बाहिरी अवस्था निरीक्षण गरेर हेर्ने, घाउ खटिरा एवम् चोटपटक भएमा उपचार गरिनेछ ।
शिविरमा हात्तीको स्वास्थ्य अवस्था पत्ता लगाउन रगतको नमुना सङ्कलन गरिएकाे छ । रगत परीक्षणबाट रक्त कोषहरुको अवस्था, तनाव र पोषणको अवस्था पत्ता लाग्नेछ । हात्तीको कानबाट निकालिएको रगतबाट बायोकेमेष्ट्री एनलाइसिस गरी शरीरको हर्मोनको अवस्था पत्ता लगाइने र रक्त कोषहरुको अवस्था बुझिन्छ । हात्तीलाई तनाव बढी छ कि, शरीरमा पौष्टिक तत्वको अवस्था कस्तो छ, अन्य रोग छ कि छैन भन्नेबारे रगतको परीक्षणबाट थाहा हुने प्राविधिक टोलीले जनाएका छन् ।
तीन दिन लगाएर १३ वटा हात्तीको स्वास्थ्य जाँच गरिने र रगतको परीक्षणबाट कुनै रोग देखिएमा तत्काल उपचार प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । शिविरमा प्राविधिकसँगै नङ काट्नका लागि कर्मचारीसँगै अमेरिकाबाट आएका विदेशी विज्ञ टोलीको पनि सहभागिता रहेको छ ।

यस्तै, हात्तीको स्याहारमा रहेका कर्मचारीहरु पनि शिविरमा परिचालन गरिएको उहाँले बताउनुभयो । शिविरमा पहिलो चरणमा हात्तीलाई जुकाको औषधि खुवाउने, रगत जाँच गर्नेदेखि फुट ट्रिमिङ (नङ काट्ने) काम गरिने र दोश्रो चरणमा हात्तीको स्वाब सङ्कलन गरेर टीबी रोगको जाँच गरिने योजना रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी रामजीबाबु थापाले बताउनुभयो । 
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले पालुवा हात्तीमा देखिने स्वास्थ्य समस्याको उपचारका लागि हरेक वर्ष स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको बताउँदै हात्तीको स्वास्थ्य अवस्था, शरीरमा पौष्टिक तत्वको अवस्था तथा अन्य कुनै रोगको अवस्था पत्ता लगाउन र उपचार गर्न शिविरको आयोजना गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























