काठमाण्डाै, १६ कार्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले योगराज ढकाल (रिगल) काे कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताउनुभएको छ ।

आज बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री ज्वालाले रिगलको कैद मिनाहालाई बदर गर्ने सर्वोच्चको फैसलालाई सरकारले सम्मान गर्ने बताउनुभएको हो । उहाँले सरकारले कुनै पनि निर्णय गर्दा संविधान, नियम र कानुनलाई ध्यानमा राखेर गर्नुपर्ने सुझावको रूपमा यो फैसलालाई लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अदालतले गरेकाे फैसलाई सरकारले सम्मान गर्छ । सरकारले निर्णय गरेका कतिपय विषय अदालतमा जान्छन् । ती निर्णयमा कहिलेकाहीँ अदालतले फरक आदेश पनि गर्न सक्छ । हरेक विषयमा जोगिएर निर्णय गर्नुपर्‍याे । संविधान, नियम, कानुनलाई ध्यानमा राखेर निर्णय गर्नुपर्‍याे । त्यसैले यो एउटा सरकारलाई सुझाव पनि हो । संविधान मिचिएको होइन, यस सम्बन्धमा सरकारले निर्णय गर्दा अझै राम्रोसँग विचार गर्नुपर्थ्याे । अदालतको कुनै पनि आदेशलाई सरकारले कार्यान्वयन गर्छ ।’

रिगललाई सरकारको सिफारिसमा गएकाे असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएको थियो । रिगलले विसं २०७२ असार २८ गते नेपालगञ्जकाे धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले गएकाे असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । रिगलले ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो । फाइल तस्बिर