गृह मन्त्रालयले सिँजाको इलाका प्रशासन कार्यालयमा अधिकृत खटायाे
जुम्ला, १३ कार्तिक । गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय नराकोट सिँजामा अधिकृत खटाएको छ । मन्त्रालयले नराकोटमा अधिकृत रेश्मा बुढाक्षेत्रीलाई खटाएकाे हाे ।
मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार शाखा अधिकृत बुढाक्षेत्रीलाई तत्काल नागरिकतालगायत अत्यावश्यक सेवा प्रवाह शुरु गराउनका लागि यही कात्तिक १५ गतेदेखि नराकाेटमा खटाउने भएकाे हाे । उहाँ गृह मन्त्रालयमै कार्यरत हुनुहुन्थ्याे ।
अधिकृतस्तरको दरबन्दी भएको इलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत नआउँदा नायब सुब्बालाई कामु बनाएर सिँजा क्षेत्रबाट नागरिकता वितरण गरिँदै आएको थियो । झन्डै दुई महिनाअघि नायव सुब्बा सुतबहादुर गिरीको पनि अवधि सकिएपछि सिँजाबाट नागरिकता वितरण प्रभावित भएको थियो । सिँजामा आधिकारिक कर्मचारी नहुँदा नागरिकतामा हस्ताक्षर गर्न नागरिक सदरमुकाम आउनुपर्ने बाध्यता थियो ।
यसअघि स्थानीय सुमन धिताल अधिकृतकाे रूपमा नराकाेट पुग्नुभएकाे थियाे । उहाँ २०७३ साल कात्तिकमा सरुवा भएर गएपछि अहिलेसम्म अधिकृतस्तरको कर्मचारी पठाउन सकेको थिएन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























