दैलेख, ६ कार्तिक । दशैँकाे अवसरमा सोसेक नेपालले नौमूले गाउँपालिका र आठबीस नगरपालिकाका पहिरो पीडित १४ परिवारलाई खाद्यान्न सहयोग गरेकाे छ । पालिकाहरूको आग्रहमा आज साेमवार पहिराे पीडितलाई खाद्यान्न र कपडा सहयोग गरिएको हीरासिंह थापाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सांसद सीताकुमारी राना र नौमूले गाउँपालिकाका अध्यक्ष छबिराम सुबेदी लगायतका जनप्रतिनिधिको उपस्थितिमा नौमूलेमा र सांसद रानासँगै आठबीस नगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा राकममा खाद्यान्न र कपडा सहयोग गरिएकाे हो ।

डीसीएको साझेदारीमा सञ्चालित ग्रीन कर्णाली गिफ्ट परियोजना अन्तर्गत प्रतिपरिवार ५० केजी चामल, एक पेटी तेल, तीन केजी नुन, डेढ दर्जन साबुन, दुई/दुई वटा कम्बल, तन्ना र सिरानीसमेतका सामग्री दिइएको हो ।

पहिरो प्रभावित परिवारले दशैँका बेला पाएको यो सहयोगले उनीहरूलाई ठूलो सहयोग पुगेको भन्दै सहयोगी संस्थाहरूलाई आठबीस नगरपालिकाका पूर्वमेयर खड्गराज उपाध्यायले धन्यवाद दिनुभयो । सहायता पाएपछि दशैँ र तिहारलाई खाद्यान्न अभावको चिन्ता हटेको भन्दै नौमूले गाउँपालिका–४ कालिकाकी मन्धरा सिजालीले खुशी व्यक्त गर्नुभयो ।