रामबहादुर गन्धर्व

कपिलवस्तु, २ कार्तिक ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहले चालु आर्थिक वर्षका १ करोड बढीको बजेट तथा सोही अनुसारको कार्यक्रम ल्याएको छ ।

बिहिबार सम्पन्न वन उपभोक्ता समुहको २४ औँ वार्षिक साधारणसभा वन कार्यसमितिका अध्यक्ष कुन्तामणी भुषालले आर्थिक वर्ष २०८०÷०८१ का लागि १ करोड २२ लाख ८५ हजार ६४ रुपैँया बराबरको अनुमानित बजेट पेश गरेका छन् । उनले सोही बजेटमा आधारित १६ बुँदे निति तथा कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।
यस्तै वन कार्यसमितिका सचिव शुष्मा थापाले समुहको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०४५ सालमा स्थापना भएको सामुदायिक वनले लामो समय वन संरक्षण र दिगो वन विकासका लागि काम गरेको उल्लेख गर्दै रुख रोपौँ वन जोगाऔँ भन्ने अभियानको अगुवाई समेत गरिरहेको उल्लेख गरिन् । सचिव थापाका अनुसार कोइलीचौर साना किसान सामुदायिक वनसँग हाल २ हजार ५ सय ३० जनसंख्या प्रत्यक्ष जोडिएको उल्लेख छ । यस वनमा ४ सय ८० घरधुरी सदस्य आबद्ध रहेका छन् ।
यस्तै कार्यक्रममा समुहकी कोषाध्यक्ष माधुरी सेन ओलीले गत आर्थिक वर्ष २०७९÷०८० को आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै समुहले गत एक आर्थिक वर्षको अवधिमा कुल १ करोड ८१ लाख ३१ हजार ३६३ रुपैँया ९२ पैसा सहितको आय व्यय प्रस्तुत गरेका थिइन् ।

यस्तै वन कार्यसमितिका लेखा समिति संयोजक नेत्र प्रसाद बुढाथोकीले कोइलीचौर साना किसान सामुदायिक वनले कोषको रकम लाई खर्च गर्दा मितव्ययिता अपनाइएको उल्लेख गर्दै पाँच बुँदे सुझाव समेत पेश गरेका छन् । उनले सामुदायिक वनले सामुदायिक विकासका कार्यक्रमहरु संचालन गर्दा सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरि लागत साझेदारीका कार्यक्रमहरुलाई प्राथामिकतामा राख्नुपर्नेलगाएतका सुझाव दिएका छन् ।

कार्यक्रममा डिभिजन वन कार्यालय तौलिहवाका डिभिजनल वन अधिकृत विजयराज सुवेदीले सामुदायिक वनको विकासका लागि वन कार्यसमितिसँगै वन उपभोक्ताहरुको महत्वपूर्ण भुमिका रहेकाले वनको आम्दानीलाई सहि सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेल, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत खिल तामाङ, सव डिभिजन वन कार्यालय गोरुसिँगेका प्रमूख बसन्त थापा, वनका सल्लाहाकार हरिराज घिमिरे, नारायण खनाल, खुतखुते सामुदायिक वनका अध्यक्ष भिमबहदुर पुन, अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेल लगाएतको आथित्यता रहेको थियो ।

सामुदायिक वनले साधारणसभा कार्यक्रमको अवसरमा भर्तपुर र भर्लावास स्थित बालविकास कक्षामा अध्ययनत बालवालिकाहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री समेत प्रदान गरेको छ भने वन हेरालुका लागि पनि सम्मान गरेको छ ।