काठमाण्डौ, २ कार्तिक । १९ वर्ष मुनिको एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरबसँगको खेलमा नेपालका अर्जुन कुमालले शतक प्रहार गरेका छन् । मलेसियामा भइरहेको खेलमा उनले १ सय ४२ रनको सानदार शतकीय पारी खेले । उनले १७ चौका र दुई छक्का प्रहार गरे ।

साउदी अरबसँगको खेलमा पहिले व्याटिङ गरिरहेको नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । आजको खेलले सेमिफाइनल प्रवेश गर्ने टोलीको टुङ्गो लगाउनेछ । लिग चरणको खेलमा नेपाल र साउदी दुवैले बहराईन र इरानलाई हराएका छन् ।

दुवै टिमले समान २ खेलबाट ४ अंक जोडेर तालिकाको पहिलो र दोस्रो स्थानमा छन् । समूहको शीर्ष स्थानमा रहने टोलीले अन्तिम चारमा स्थान बनाउने छ । समूह चरणको दुई खेलमा नेपालको प्रर्दशन शानदार छ ।

पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको नेपालले दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिम १९ वर्ष मुनिको एसिया कपमा छनोट हुनेछ ।